उपन्यासकार पुष्कर लोहनीको नयाँ उपन्यास ‘अदृश्य मान्छे’ काठमाडौँस्थित ज्ञानज्योति पुस्तक पसलमा सार्वजनिक गरियो । पत्रकारहरू राजकुमार बानियाँ, दीपक सापकोटा, फणिन्द्र संगम, समर्पण श्री, लेखक पुष्कर लोहनी र प्रकाशक पुष्पराज पौडेलले एकसाथ पुस्तक सार्वजनिक गरे।

यो उपन्यास लेख्न नमिल्ने आत्मकथाको प्रारूप भएको सो अवसरमा लेखक पुष्कर लोहनीले बताए । उनले भने, ‘यो एउटा सन्दिग्धताको इमान्दार टिपोट हो । बलात् थोपरिएका मूल्यहरूको साङ्लो एक्कासि तोडिने हो भने मान्छे कस्तो हुन्छ— यस उपन्यासले बताउने छ ।’

सम्बन्धहरूमा विश्वास र तृप्तिको अभाव भयो भने मान्छे कसरी टुट्छ, फुट्छ र बहुलाउँछ, उपन्यासले मिहिनतापूर्वक केलाएको लोहनीले बताए ।

‘एउटै मान्छे कसरी अनेक मन र अनेक जीवनमा बाँचिरहेको हुन्छ, त्यो यहाँ देख्न सकिन्छ,’ उनले भने, ‘जटिलभन्दा जटिल मानिएका मनोवैज्ञानिक समस्याको समाधान कसरी चयनको स्वतन्त्रता जस्तो सामान्य सूत्रमा निहित छ, त्यो कुरा पनि यसैमा समेटिएको छ । कुरा यत्ति हो, यस सरल सूत्रमा हामीले लगाएको जटिलताको ताल्चा तोड्नु जरूरी छ ।’

शिखा बुक्सले बजारमा ल्याएको यस उपन्यासको मूल्य ३००/- रूपैयाँ छ ।