नेपालगन्जका चर्चित कानुन व्यवसायी अधिवक्ता लोकबहादुर शाहको संस्मरणात्मक पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’ विहीबार नेपालगन्जमा विमोचन भएको छ ।

क्रिएटिभ बुक्सले पुस्तक प्रकाशन गरेको यस पुस्तकलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मुख्य न्यायधीश पवनकुमार शर्माले पुस्तक विमोचन गरे । न्यायाधीश शर्माले पुस्तकमा तत्कालीन सामाजिक परिवेश र भागाइहरु समेटिएको चर्चा गर्दै यसले नयाँ पिँढीलाई प्रेरणा दिने बताए ।

नेपाल बारका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ र शिक्षाकर्मी शशि स्वाँरले पुस्तकमाथि टिप्पणी गरे । टिप्पणीकार अधिवक्ता श्रेष्ठले शाहको सुरुवाती संघर्ष र सफलता हरेक युवा पेशाकर्मीका लागि प्रेरणा हुने बताए । क्रिएटिभ बुक्सले सही पात्र चयन गरेको बताउँदै अधिवक्ता श्रेष्ठले आगामी दिनमा शाहको थप कृति आउनेमा आशावादी रहेको बताए ।

शिक्षाकर्मी स्वाँरले अछाम तथा सुदूरपश्चिमको तत्कालीन अवस्थाको पुस्तकमा चित्रण गरिएकाले अध्येताका लागि काम लाग्ने बताए । पुस्तक हरेक पेशा र व्यवसायमा रहेका व्यक्तिहरुका लागि प्रेरणादायी रहेको स्वाँरको भनाइ थियो ।

क्रियटिभ बुक्सका अध्यक्ष टिएस ठकुरीले हरेक मानिसका आआफ्ना कथा र भोगाइ हुने भएकाले त्यसलाई पुस्तकमा लिपिबद्ध गर्दा नयाँ पुस्तालाई प्रेरणा दिने बताए । समाजका हरेक व्यक्तिले आफ्नो संघर्ष, भोगाइ र सफलता समेटेर पुस्तकार दिनुपर्नेमा अध्यक्ष ठकुरीले जोड दिए ।

अधिवक्ता शाहले लकडाउनको समयमा आफ्ना विगतका कुराहरु श्रीमतीलाई सुनाउँदा त्यसलाई पुस्तकका रुपमा उतार्दा नयाँ पुस्तालाई प्रेरणाको स्रोत बन्न सक्ने सल्लाह पाएपछि आफूले पुस्तकको तयारी गरेको बताए ।

पुस्तकको सम्पादन पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले गरेका छन् । विमोचन समारोहमा न्यायाधीशहरु गोकर्ण डाँगी र विमल सुवेदी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमसेर राणा, वरिष्ठ अधिवक्ता गिरिबरप्रसाद अग्रवाल, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, कैलपाल एकेडेमीका प्रबन्ध निर्देशक सञ्जय सिंह, निर्देशक रेवती सिंह, डा. रुपानन्द अधिकारी, डा. गौरव श्रेष्ठ, डा. कुमारशान शाह, आशीर्वाद पेन्ट्सका अध्यक्ष किरण कार्की, डा. जनार्दन आचार्य लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।