साहित्यपोस्ट संवाददाता, जापान । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल जापानका प्रमुख पाँच शहरमा आयोजना हुने मोटिभेसनल कार्यक्रममा सहभागी हुन जापान आउनुहुने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको सह–आयोजनामा “सपना, साधना र सफलता : युगदेखि युगसम्म” शीर्षकको कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

जापानमा बसोबास गर्ने नेपाली समुदायमा प्रेरणा, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा महानायक हमालले आफ्नो जीवनयात्रा, निरन्तर साधना, संघर्ष र सफलतासम्मका अनुभव साझा गर्नुहुनेछ।

कार्यक्रममा सहभागीहरूले हमालको जीवनी ‘युगदेखि युगसम्म’ उहाँको हस्ताक्षरसहित प्राप्त गर्न सक्नेछन्। विशेषगरी युवा, विद्यार्थी, श्रमिक र व्यवसायीलाई लक्षित गरी आत्मअनुशासन र सकारात्मक सोचतर्फ प्रेरित गर्ने उद्देश्य कार्यक्रमको रहेको आयोजकले जनाएको छ।

टोकियोसहित शिजुओका, नागोया, ओसाका र फुकुओकामा कार्यक्रम सञ्चालन हुने भएकाले जापानभर रहेका नेपाली समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास आयोजक संस्थाले व्यक्त गर्नुभएकाे छ ।

कार्यक्रमको मिति, समय र स्थान

१) टोकियो

मिति: फेब्रुअरी ११ (बुधबार)
समय: साँझ ६:३० बजेबाट
स्थान: Nakano Zero Hall, Nakano City

२) शिजुओका

मिति: फेब्रुअरी १४ (शनिबार)
समय: साँझ ६:००–९:००
स्थान: Miraie Community Hall, Shizuoka

३) नागोया

मिति: फेब्रुअरी १५, २०२६
समय: साँझ ५:०० बजेबाट
स्थान: Nagoya International Center, Nagoya

४) ओसाका (कान्साइ क्षेत्र)

मिति: फेब्रुअरी १७ (मंगलबार)
समय: ४:३०–९:१५
स्थान: Osaka Abeno Civic Center

५) फुकुओका

मिति: फेब्रुअरी १९ (बिहीबार)
समय: साँझ ६:०० बजेबाट
स्थान: Hakata Civic Center, Fukuoka

उक्त कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहेको जनाउँदै एनआरएनए जापान र अनेसास जापानले जापानमा रहेका सम्पूर्ण नेपालीलाई उपस्थित भई कार्यक्रम सफल बनाउन अपिल गर्नुभएकाे छ ।