दाङ । प्रगतिशील लेखक सङ्घ दाङ शाखाले शनिबार घोराहीमा ‘प्रगतिवादः सिद्धान्त र सिर्जना’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
सङ्घका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै समालोचक तथा भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरीले समाज विकासको ऐतिहासिक चरणमा साहित्यले सधैँ महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले माक्र्सवादी साहित्य सिद्धान्त नै प्रगतिवादी साहित्य सिद्धान्त भएको उल्लेख गर्दै प्रगतिवादी र माक्र्सवादी हुनुमा कुनै भिन्नता नरहेको स्पष्ट पार्नुभयो।
डा. गिरीले माक्र्सवादी साहित्य समाजको आमूल परिवर्तन र रूपान्तरणसँग प्रत्यक्ष रूपमा जोडिने धारणा व्यक्त गर्दै साहित्यले समाजको यथार्थ चित्रण मात्र नगरी त्यसलाई परिवर्तन गर्न सक्ने सामर्थ्य राख्नुपर्नेमा जोड दिनुभयो। साहित्यलाई परिवर्तनकारी शक्तिका रूपमा स्वीकार गर्नु नै प्रगतिवादी साहित्य भएको उहाँको भनाइ थियो। हरेक सिर्जनामा वर्गीय पक्षधरता निहित हुने उल्लेख गर्दै उहाँले साहित्यको उपयोगिता, सामाजिक दायित्व र वर्गीयतालाई जीवन दर्शन तथा सौन्दर्यसँग जोडेर बुझ्नु नै वास्तविक प्रगतिवाद भएको धारणा राख्नुभयो।
कार्यक्रममा सहभागीहरूबीच प्रगतिवादी साहित्यका विविध आयाम तथा समकालीन चुनौतीहरूबारे अन्तर्क्रियात्मक छलफल समेत भएको थियो। कार्यक्रमको सहजीकरण सङ्घका सचिव पुरण शर्माले गर्नुभएको थियो।
स्थानीय साहित्यकार तथा चिन्तकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमले प्रगतिवादी समझदारी बढाउन र साहित्यमा त्यसको प्रयोगलाई स्पष्ट पार्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताउनुभएकाे छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 




