काठमाडौं । २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको दशकदशक कथावाचन कार्यक्रमको २७औँ शृङ्खला शुक्रबार सम्पन्न भएको छ।
यस पटकको कार्यक्रममा दिवंगत स्रष्टा लक्ष्मीनन्दन शर्मा चालिसेको ‘लतमाया’ शीर्षक कथा वाचन गरी उहाँप्रति सम्मान प्रकट गरिएको थियो। कथा वाचन सुभाषचन्द्र पौडेल भीमफेदीयाले गर्नुभएको थियो।
कार्यक्रममा राशि पाण्डेले २०४० को दशकमा प्रकाशित आफ्नो कथा ‘सिङ्थाजी’ वाचन गर्नुभयो भने मधुसूदनप्रसाद घिमिरेले २०६० को दशकमा प्रकाशित कथा ‘गहिराइ’ प्रस्तुत गर्नुभयो। कथावाचनपछिका प्रश्नोत्तर सत्रमा श्रोताहरूले कथासम्बन्धी जिज्ञासा राख्नुभएकाे र सम्बन्धित कथाकारहरूले त्यसको जवाफ दिनुभएको थियो।
समालोचक प्रा. डा. भरतकुमार भट्टराईले ‘सिङ्थाजी’ कथामा तामाङ जाति, समाज र संस्कृतिको सुन्दर चित्रण भएको टिप्पणी गर्नुभयो। अर्का समालोचक पबित्रा अधिकारीले ‘गहिराइ’ कथालाई निबन्धात्मक शैलीको कथा भएको र बाजे, बाबु र छोराको जीवन चित्रण गरेको उल्लेख गर्नुभयो।
कार्यक्रमका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अभियानको उद्देश्य पुराना नेपाली कथा र कथाकारहरूबारे अनुसन्धान गर्ने रहेको व्याख्या गर्नुभयो। उहाँले हिन्दी कथाकार चन्द्रधर शर्मा गुलेरीका अन्य कथाहरू खोजी गर्ने क्रममा ‘घंटाघर’ कथा प्रकाशनको ८५ वर्षपछि फेला परेको रोचक तथ्य पनि जानकारी दिनुभयो।
अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले विसं २०१३ देखि नेपाली साहित्यमा संलग्न अनुभव स्मरण गर्दै आफ्नो फ्रायडवादी साहित्य अध्ययनको यात्रा प्रस्तुत गर्नुभयो।
कार्यक्रममा कथावाचकहरूका अतिरिक्त अन्य कथाप्रेमीहरूको उपस्थिति रहेको थियो। दश वर्षदेखि चल्दै आएको यो मासिक कार्यक्रम साहित्यकार पुष्कर लोहनीको निवास, डिल्लीबजार, काठमाडौंमा नियमित रूपमा आयोजना हुँदै आएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 




