मोरङ। स्वर सङ्गम सङ्गीतालय, विराटनगरको ७३औँ शृङ्खला सम्पन्न भएको छ। शास्त्रीय तथा सुगम सङ्गीत शृङ्खला नाम दिइएको उक्त कार्यक्रम सङ्गीतालयको आफ्नै सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही रहनुभएको थियो। कार्यक्रममा रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्ले, मैथिली ब्राह्मण समाजका अध्यक्ष मनोज मिश्रा, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सदस्य शिवनारायण सिङ्गल, विराट मैथिल कला परिषद्का कोषाध्यक्ष महेश यादव, मैथिली कवि कर्ण सञ्जयलगायत विभिन्न क्षेत्रका स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो। साथै सङ्गीतका विद्यार्थीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सौम्य पोखरेल, आकृति राई, बैजनाथ यादव, अतिषा भट्टराई, सूर्य धिमाल, सरला पोखरेल, ज्योति राजवंशी, आरजु बोहोरा, सन्देश प्रजा, ओजस्वी गुरागाईं, माही अटललगायत कलाकारहरूले विविध सङ्गीत प्रस्तुति दिनुभएकाे थियाे । साथै सुमन पोखरेलको रचना रहेको गीतलाई श्यामकृष्ण बास्कोटा र अर्चना बास्कोटाले स्वर दिनुभएकाे थियाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केशु विरहीले स्वर सङ्गम सङ्गीतालयले उत्पादनशीलतामा जोड दिँदै आएकोमा खुसी व्यक्त गर्दै यसको निरन्तरताको कामना गर्नुभयो। लेखक तथा अनुसन्धानकर्तासमेत रहेकाे उहाँले कला र साहित्यमा निरन्तर साधनाको आवश्यकता औँल्याउनुभयो।
रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेले स्वर सङ्गम सङ्गीतालयबारे जानकार रहे पनि लामो समयपछि कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष गुरु कुशेश्वर राईले निकै मेहनतपछि संस्था स्थापना भएको उल्लेख गर्दै यसको विकासमा सबैको सहयोगको अपेक्षा गर्नुभयो।
२०५१ सालमा स्थापना भएको स्वर सङ्गम सङ्गीतालयले नियमित रूपमा विविध गतिविधि सञ्चालन गर्दै आएको छ। संस्थाले विशेष रूपमा उत्पादनशीलतामा जोड दिँदै आएको छ। आयोजक संस्थाका अध्यक्ष एवम् गुरुजी कुशेश्वर राईका अनुसार संस्थामा पहिलो शनिबार बहुभाषिक लोकसङ्गीत, तेस्रो शनिबार शास्त्रीय सङ्गीत र अन्तिम शनिबार आधुनिक गीत–सङ्गीतका प्रस्तुति हुने गरेका छन्।
कार्यक्रम कुशेश्वर राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव महिमा शर्माले गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ चैत्र २०८२, मंगलवार 




