काठमाडौं । उन्नाइसौँ त्रिमूर्ति दिवसका अवसरमा आयोजित समारोहमा नेपाली साहित्यकी नारी रत्न श्रीमती माया ठकुरीले त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यको श्रीवृद्धिका लागि अपरिमेय योगदान भएको बताउनुभएको छ।
समारोहका प्रमुख अतिथि ठकुरीले त्रिमूर्ति निकेतनले प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलनदेखि विश्व नारी नेपाली साहित्य सम्मेलनसम्म उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै नेपाली साहित्यको विस्तार र अन्तर्राष्ट्रिय पहिचानमा संस्थाको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले त्रिमूर्ति निकेतनकै सहकार्यमा नइ एकेडेमीद्वारा आगामी चैत २७, २८ र २९ गते ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना हुने जानकारीसमेत दिनुभयो। समारोहमा कवि गेपाल पराजुलीले कविता वाचन गर्नुभएको थियो।
त्रिमूर्ति निकेतनकी संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्य विकास परिषद् बेलायतका संस्थापक अध्यक्ष सुरेशजङ्ग शाह, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा. केशव सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक नाट्यभूषण मदनदास श्रेष्ठ, त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक यादव भट्टराई तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले नेपाली साहित्यमा त्रिमूर्ति निकेतनको योगदानबारे आ–आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 










