छरिएका विचार : लोकराज बराल
लेखक लोकराज बरालको लेखसङ्ग्रह हो ‘छरिएका विचार’ । लोकराज बरालले विभिन्न समयमा लेख्नुभएको राजनीतिक समसामयिक लेखहरु पुस्तकमा समेटिएको छ ।
‘त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष प्राध्यापन गरेका डा. लोकराज बराल भारतका लागि नेपालका पूर्वराजदूत हुन् । त्रिविमा राजनीतिशास्त्रको विभागीय प्रमुख रहिसकेका उनले धेरै देशका विश्वविद्यालयमा आगन्तुक प्राध्यापकका रूपमा प्राध्यापन गरेका छन् । उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा धेरै लेखका साथै आफ्ना र सम्पादित गरी २६ पुस्तक प्रकाशित छन् । बराल नेपाल समसामयिक अध्ययन केन्द्र, काठमाडौं विश्वविद्यालयका मानार्थ अध्यक्ष हुन् ।’

”पत्रपत्रिका या पुस्तकमै छापिसकेका लेख किन प्रकाशित गर्ने भन्ने अनेक सोचका बीच मैले लेख सँगालो बनाउने निर्णय गरेँ।” पुस्तकमा लेखक लाेकराज बराल लेख्नुहुन्छ, ”पत्रिकामा छापिएका लेख पढिसकेपछि अनुसन्धान गर्ने बाहेक अरूले त्यति प्रयोग नगर्ने तर पुस्तकका आकारमा आउँदा सबै लेख स्थायी रहने भएकाले आफ्ना विचार सँगाल्ने प्रयास गरेको छु । धेरै लेख राजनीतिसित सम्बन्ध भएकाले सबैका लागि उपयोगी होला भन्ने ठानेको छु । विषयको समीक्षा गरिँदा विचार दोहोरिन पनि सक्छन् तर समग्रमा नेपालको राजनीतिका विभिन्न पक्ष समेटिएका छन् । शासनशैलीको दिक्कलाग्दा घटनाले जनता निराश हुनु स्वाभाविक हो तर नेपालको आशलाग्दो आधार नेपाली जनताको चेतना, सहिष्णुता र लोकतन्त्रप्रतिको प्रतिबद्धता हो । इतिहासका कालखण्डमा अनेक उतारचढाव आए पनि अब नेपालको सही बाटो सक्षम लोकतान्त्रिक परिपाटीका आधारमा राष्ट्र निर्माण गर्ने हो । राजनीतिक विषयका अनेक आयाम हुन्छन् जस्तो सिद्धान्त, अध्ययन विधि, मूल्याङ्कनको स्तर । मेरा लेखमा आफ्नो प्राध्यापनको पृष्ठभूमि, रुचि र शैली अत्यन्त निजी छन् । यस्ता लेख समय र सन्दर्भले प्रेरित गरेका हुन्छन् भने कतिपय भने यात्रावर्णनमा आधारित छन् र केही पुस्तक समीक्षाका रूपमा भेटिन्छन् । प्रायजसो लेख कान्तिपुर दैनिक र केही नयाँ पत्रिकामा छापिएका हुन्। ‘गान्धी, नेहरू र वीपी’ वीपीको समाजवाद र स्थानीय सरकार (वीपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपाल, २०८२) मा प्रकाशित भएको हो ।”

पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । तीन सय ३५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य छ सय ५० रुपियाँ रहेको छ ।