काठमाडौँ । गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ। उक्त गीत ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा ओमप्रकाश राईको संगीत रहेको छ भने गायिका पेमा शेर्पा राईको सुमधुर स्वरले गीतलाई जीवन्त बनाएको छ। गीतको एरेन्ज सन्तोष प्रगाढ राईले गर्नुभएकाे हाे । त्यसैगरी, इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ले गर्नुभएकाे छ भने मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गर्नुभएकाे छ ।
एकतर्फी प्रेमको पीडा र चोखो प्रेमको आत्मीय भावलाई प्रस्तुत गर्ने यस गीतले श्रोतामाझ भावनात्मक प्रभाव छोड्ने विश्वास गरिएको छ। यसअघि २०७५ सालमा श्रीराम राईको गीत ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गायिका तथा अभिनेत्री शिला खनालको स्वरमा सार्वजनिक भएको थियो। त्यस्तै, उहाँका अन्य गीत ‘सञ्चो छौ कि विसञ्चो’ २०७९ मा मनमा बि राई र २०८१ मा नवराज पराजुलीको स्वरमा सार्वजनिक भइसकेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङ निवासी राई पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय स्रष्टा हुनुहुन्छ । उहाँले साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएकाे छ । उहाँका प्रकाशित बालकथासङ्ग्रहहरूमा ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) रहेका छन्।
लघुकथाको उन्नयनमा सक्रिय राई ‘लघुकथा सौन्दर्य’ अभियानमार्फत निरन्तर क्रियाशील हुनुहुन्छ । उहाँका लघुकथाहरू ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामूहिक सङ्ग्रहमा सङ्गृहीत छन्। राईको संयोजन तथा विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासङ्ग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ।
हाल रावासावा प्राज्ञिक समाज नेपालका सचिव रहनुभएकाे राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्षसमेत हुनुहुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० पुष २०८२, बुधबार 










