मोरङ । कोसी साहित्य–कला परिषद् नेपालले ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। सिर्जनशीलताको विकास गर्दै साहित्यलाई गाउँ–गाउँसम्म पु-याउने उद्देश्यसहित परिषद्ले आगामी पुस ४ गते मोरङको रङ्गेली नगरपालिका–१, बबियाविर्तामा कार्यक्रम गर्न लागेको हो।

परिषद्का अध्यक्ष केशु विरहीका अनुसार ग्रामीण समुदायमा पठन–संस्कृति विस्तार गर्ने लक्ष्यका साथ ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रमको सुरूवात गरिएको हो। “साहित्य बजारमा मात्र सीमित नहोस्, गाउँ–गाउँमा पाठक तयार होस् भनेर यस्तो कार्यक्रम सुरु गरेका हौँ। यसलाई निरन्तरता दिँदै लैजाने छौँ,” उहाँले बताउनुभयाे ।

मङ्सिर १३ गते बेलबारी बहुमुखी क्याम्पसमा परिषद्ले ‘थोरै तर गुणस्तरीय कार्यक्रम’ गर्ने घोषणा गरिसकेको थियो। भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन लक्ष्य बनाएको परिषद्ले अग्रज सम्मान, नयाँ पुस्ताको अभिप्रेरणा, साहित्यमा थिति बसाल्ने, क्षमता र योगदानका आधारमा मूल्याङ्कन गर्ने तथा कला–साहित्यग्राम निर्माणजस्ता दीर्घकालीन योजनामा कार्य गरिरहेको जनाउनुभएकाे छ।

आगामी कार्यक्रमका बारेमा जानकारी दिँदै परिषद्का सचिव नवराज पोखरेल ‘नवशिला’ले कृषिकर्मसँग सम्बन्धित रचनाहरू मात्र वाचन गरिने बताउनुभयाे । साथै कृषि र साहित्यबीचको अन्तरसम्बन्ध विषयमा एक वक्ताको प्रस्तुतिसहित वाचन गरिएका रचनामाथि दुई समीक्षकहरूले टिप्पणी प्रस्तुत गर्ने सहआयोजक रङ्गेली साहित्य–कला समाजका सचिव चिरञ्जीवी काफ्लेले जानकारी दिनुभयाे ।

कार्यक्रमको पहललाई लिएर विभिन्न साहित्यिक वृत्तबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन्। “सुविधासम्पन्न हलमै सीमित भइरहेको साहित्यलाई गाउँ–गाउँसम्म पु-याउने यो प्रयास स्वागतयोग्य छ,”  साहित्यकार हर्कमान तामाङले प्रतिक्रिया दिनुभयाे । प्रा.डा. भीम खतिवडा, डा. छवि वैरागी घिमिरे र  साहित्यकार केशव आचार्यले पनि यसलाई साहित्यिक क्षेत्रका लागि ‘सार्थक सुरुवात’ का रूपमा प्रशंसा गर्नुभएकाे छ ।