पोखरा । हेमजा साहित्य प्रतिष्ठान, नेपालले आयोजना गरेको हेमजा साहित्य महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। माछापुच्छ्रे हिमालको काखमा दुईदिने महोत्सवको मुख्य आकर्षण साहित्यकार तथा भाषाविद् प्राज्ञ मुकुन्दशरण उपाध्यायको रथारोहणसहितको नागरिक अभिनन्दन रह्यो। पहिलोपटक आयोजना गरिएको यस महोत्सवमा देशभरका प्रतिष्ठित साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
हेमजा–२५ को लामाचौतारादेखि साँझाचोक, नहरचोक, मिलनचोक हुँदै ज्ञानसागर एकेडेमीसम्म उपाध्यायको भव्य रथारोहण गरिएको थियो। धर्मपत्नी सहित यात्रामा सहभागी उपाध्यायलाई विभिन्न साहित्यिक संस्था, स्थानीय बासिन्दा र महोत्सवमा उपस्थित स्रष्टाहरूले ताम्रपत्र, दोसल्ला र फूलमालाले सम्मान गर्नुभएकाे थियाे । सम्मान ग्रहण गर्दा उपाध्याय भावविह्वल हुँदै हर्षाश्रु झार्नुभएकाे थियाे दृश्यले माहोल झन् भावनात्मक बनेको थियो।
पोखरा र हेमजावासीले उपाध्यायलाई देखाएको माया–सम्मान अनुपम रहेको सहभागीहरूले बताउनुभयाे । देशभरका साहित्यकारहरूले उहाँलाई समकालीन नेपाली साहित्यका अग्रज तथा ‘राष्ट्ररत्न’का रूपमा अभिहित गर्नुभयाे ।
समारोहमा पोखरा महानगरका प्रमुख धनराज आचार्य, महोत्सव मूल समिति अध्यक्ष छन्दमणि त्रिपाठी, साहित्यकार तथा गायक शिव त्रिपाठी, प्राज्ञ हरिदेवी कोइराला, प्रा.डा. रामचन्द्र पोखरेल, डा. नवराज लम्साल, महाकाव्यकार माधव वियोगी, प्रा.डा. जगन्नाथ रेग्मी, साहित्यकार तीर्थ गुरुङलगायतका व्यक्तित्वहरूले उपाध्यायप्रति आ-आफ्नो श्रद्धा र सम्मान व्यक्त गर्नुभयाे ।
साहित्यकारहरूले उपाध्यायलाई नेपाली भाषा, साहित्य र व्याकरणका क्षेत्रमा जीवनभर समर्पित स्रष्टा भन्दै उहाँको ‘प्राकृत पोखरा’ खण्डकाव्यले पोखराको सौन्दर्य विश्वसामु उजिल्याएको स्मरण गर्नुभयाे । उक्त कृतिले २०२१ सालको मदन पुरस्कार जितेको थियो।
महोत्सवमा शिव त्रिपाठीको ‘जिन्दगीका सय टुक्रा’, माधवशरण पौडेलको ‘नेपाल के कम छ र ?’ तथा गायक प्रेमराज पौडेलको म्युजिक भिडियो ‘एक्लो रात’ सार्वजनिक गरिएकाे थियाे । त्यस्तै विभिन्न भजन समूह, कलाकार, कवि, गीतकार, गजलकार, लघुकथाकार तथा आख्यानकारहरूको प्रस्तुतिले महोत्सवलाई विविधता र सांस्कृतिक रौनकले भरिएको थियो।
महोत्सवबीच ‘नेपाली आख्यान’, ‘वर्तमान समयको महाकाव्य लेखन’, ‘नेपाली नाटक’, ‘कविता विधा’, ‘मुक्तक’ लगायतका विषयमा बहस, वाचन र संवाद कार्यक्रमहरू सम्पन्न भएकाे थियाे । देशभरबाट करिब एक सयभन्दा बढी स्रष्टाहरू सहभागी रहेकाे थियाे ।
१९९७ साल वैशाख ५ गते हेमजामा जन्मनुभएकाे उपाध्याय हाल काठमाडौंको टंगाल, गहनापोखरीमा बसोबास गर्दै आउनुभएकाे छ । उहाँ श्रीराधाकृष्ण देवस्थान व्यवस्था समितिका महन्त तथा अध्यक्षसमेत हुनुहुन्छ ।
उपाध्यायका खण्डकाव्य, उपन्यास, व्याकरण, अनुवाद, पद्यावली, कवितासङ्ग्रह लगायत एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् भने व्याकरण विज्ञान, पुराणसंहिता, शब्दकोश, महाकाव्यसहितका कृतिहरू प्रकाशनको तयारीमा छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 




