भक्तपुर । पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई एकसय एक संस्थाले सामूहिक रूपमा एक विशेष कार्यक्रममा अभिनन्दन गरेको छ। तारा किशन फाउण्डेशन, साहित्यिक पत्रकार संघ र नेपाल स्रष्टा समाजको संयोजनमा भक्तपुर–ठिमीमा आयोजित समारोहमा चन्दलाई औपचारिक रूपमा सम्मान गरिएको हो।
कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो। अध्यक्ष लेकाली, तारा किशन फाउण्डेशनका संरक्षक किशनसिंह धामी र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले चन्द तथा उहाँकी धर्मपत्नीलाई दोसल्ला, टोपी र दुबाेको माला लगाएर अभिनन्दन गर्नुभएकाे थियाे ।
समारोहमा साहित्यकार प्रमोद प्रधानले चन्दको विस्तृत परिचय प्रस्तुत गर्नुभयाे । त्यसपछि अध्यक्ष लेकालीले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभयाे भने, श्रीओम श्रेष्ठ ‘रोदन’ले अभिनन्दनपत्र वाचन गर्नुभएकाे थियाे ।
अभिनन्दनपत्रमा चन्दले आख्यान, निबन्ध र समालोचनामार्फत नेपाली समाज रूपान्तरणमा पुर्याएको योगदानलाई उच्च प्रशंसा गरिएको उल्लेख छ।
चारपटक नेपालको प्रधानमन्त्री भइसक्नुभएकाे चन्द साहित्य र राजनीतिदुवै क्षेत्रमा शालीन, सादगीपूर्ण र भद्र व्यक्तित्वका रूपमा परिचित छन्। मदन पुरस्कारसहित अनेकन सम्मानले विभूषित चन्दका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् भने केही पुस्तक प्रकाशनको तयारीमा रहेका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 




