काठमाडौं । कवि तथा गीतकार निरुपम श्रेष्ठले आफ्नो तेस्रो कृतिका रूपमा गीतसङ्ग्रह ‘कुमारी माया’ पाठकमाझ सार्वजनिक गर्नुभएकाे छ । यसअघि ‘देश स्वप्न’ (२०६३) र ‘बूढो समय’ (२०७९) कवितासङ्ग्रह बाबुराम श्रेष्ठ नामबाट प्रकाशित भए पनि यो कृति भने निरुपम श्रेष्ठ नाममै आएको छ।
सिन्धुली मरिण गाउँपालिकामा अंग्रेजी शिक्षकका रूपमा सक्रिय रहेर पनि नेपाली गीत–कवितामा समान रूपमा तल्लीन रहने गीतकार श्रेष्ठले गाउँमा बुझेका, भोगेका र आत्मसात् गर्नुभएकाे अनुभवहरूलाई गीतमार्फत् उतार्नुभएकाे छ । समाज, जीवन, प्रेम, पीडा र परिकल्पनासँग जोडिएको भावभूमि यस सङ्ग्रहको मुटु बनेको छ।
सङ्ग्रह ‘कुमारी माया’ मा कुल ७५ गीत समेटिएका छन्। आकर्षक आवरण कला गीतकार बसन्तराज अज्ञातले तयार पार्नुभएकाे हाे । पुस्तकको भूमिका प्रा. डा. कृष्णहरि बरालले लेख्नुभएकाे छ । बरालका अनुसार, “संरचनागत हिसाबले हेर्दा गीतहरू स्थायी र अन्तरा भागमा स्पष्ट रूपमा विभक्त छन्। धेरै गीतमा स्थायी र दुई अन्तरा प्रयोग गरिएको छ। लयगत दृष्टिले आक्षेरिक लयलाई प्रमुख रूपमा अपनाइएको देखिन्छ।”
गीतकार राजेन्द्र थापा, दिनेश अधिकारी, प्रकाश सायमी, भुपेन्द्र खड्का लगायतका स्रष्टाहरूले पुस्तकका गीतहरूमा प्रेम, वियोग, स्थानीय बिम्ब, शब्द–शिल्प र गेयात्मक सौन्दर्यको उल्लेखनीय उपस्थिति रहेको टिप्पणी गर्दै प्रशंसा गर्नुभएकाे छ ।
त्यसैगरी सङ्गीतकार राजु सिंह र सन्तोष श्रेष्ठले ब्लर्बमार्फत् निरुपमका गीतहरू गीत–साहित्य र सङ्गीतको संगम बन्न सक्ने विश्वास व्यक्त गर्नुभएकाे छ । उहाँहरूले “स्थानीयता, अनुभव र भावनात्मक गहनताबाट रचित यी गीतहरूले नेपाली गीत–संगीत क्षेत्रमा महत्वपूर्ण टेवा पुर्याउनेछन्” भन्दै सिर्जनात्मक यात्रामा शुभकामना व्यक्त गर्नुभएकाे छ ।
‘कुमारी माया’ ले सिर्जना र संवेदनाको मार्मिक संसार पाठकमाझ पु¥याउने अपेक्षा राखिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० पुष २०८२, बुधबार 




