कालेबुङ। नेपाली साहित्य अध्ययन समिति (नेसाअस) कालेबुङले ६ डिसेम्बर २०२५ मा आयोजना गरेको हीरक वर्ष जयन्ती समारोहमा समालोचक नवीन पौड्यालको नवौं कृति ‘सर्जकवृत्त’ लोकार्पण गरिएको छ। पुस्तकको विमोचन नेसाअस कालेबुङका सभापति जोग चामलिङ, काठमाडौँ अतिथि शरद प्रधान, समालोचक कुमार छेत्री, फानुस सादा, सुमन बागदास, कथाकार ज्ञान सुतार, संरक्षिका दीपा रानी ठकुरी र समालोचक डा. इन्द्रबहादुर छेत्रीले संयुक्त रूपमा गर्नुभएकाे थियाे ।

डा. इन्द्रबहादुर छेत्रीले लोकार्पणपछि पुस्तकबारे टिप्पणी गर्दै ‘सर्जकवृत्त’ मा नेपाली साहित्यका ओझेलमा परिरहेका लेखकहरूसमेत समेटिएको चर्चा गर्नुभयाे । एक सय ७८ पृष्ठको पुस्तकमा २२ सर्जकका कृतित्व र व्यक्तित्वको समीक्षात्मक विश्लेषण गरिएको छ। पुस्तकको पहिलो अध्याय ‘सन्त ज्ञानदिल दासलाई फेरि उभ्याउने उपक्रम’ र अन्तिम अध्याय ‘नेपाली संस्कृति विशेषज्ञ डा. वीणा पौड्याल’ रहनुभएकाे थियाे ।

संकलनमा ज्ञानदिल दास, पारसमणि प्रधान, नरबहादुर दाहाल, छबिलाल उपाध्याय, राजेन्द्र सुवेदी, नव सापकोटा, समशेर अली, हरि ढुङ्गेल, पुजा उपाध्याय, नैना अधिकारीलगायत २२ सर्जकका साहित्यिक योगदान समावेश छन्।

यसै अवसरमा डा. इगम खालिङको निबन्धसङ्ग्रह ‘भित्ता’ पनि लोकार्पित भएकाे थियाे । साथै, मदन पुरस्कार प्राप्त आख्यानकार छुदेन काबिमोलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।

समारोहमा ‘नेपाली साहित्यको विकासमा नेपाली साहित्य अध्ययन समितिको योगदान’ शीर्षकमा एकदिने संगोष्ठी आयोजना भयो।
संगोष्ठीमा प्रा. दिपेश लामा, प्रा. अजय लामा, प्रा. धनबहादुर मगर, अरुण कुमार रसाइलीलगायतले नाटक, कथा, समालोचना र सांगीतिक कार्यक्रममार्फत समितिले पुर्‍याएको योगदानबारे कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

काठमाडौँका विशिष्ट अतिथि शरद प्रधानले भारतीय नेपाली साहित्यकारहरूको योगदान र दुवै मुलुकका साहित्यिक सम्बन्धबारे टिप्पणी गर्नुभयाे ।

कार्यक्रमको सञ्चालन दीप छेत्रीले गर्नुभएकाे थियाे  भने अन्त्यमा सभापति जोग चामलिङले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएकाे थियाे ।