काठमाडौँ । गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा रचित नयाँ गीत ‘प्यारो गाउँ भीमफेदी’ काठमाडौँमा सार्वजनिक गरिएको छ। साहित्यिक पत्रकार संघको आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टमा गरिएको कार्यक्रममा उक्त गीत औपचारिक रूपमा लोकार्पण गरिएको हो।

सार्वजनिक कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व रहेको थियो भने पूर्व राजदूत तथा  परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले गीतको विमोचन गर्नुभयो। विजय गुरुङको सङ्गीत र तृप्ति खड्का गुरुङ तथा विजय गुरुङकै स्वरमा तयार भएको गीत ‘प्यारो गाउँ भीमफेदी’ गाउँप्रेम र जन्मथलोप्रतिको न्यानो संवेदनामा आधारित छ।

गीत सार्वजनिक भएलगत्तै सङ्गीतकार तथा गायकद्वय तृप्ति खड्का गुरुङ र विजय गुरुङले गीत सृजनाको क्रममा आफूले अनुभूति गरेको सन्दर्भ दर्शकमाझ बाँडनुभयाे । कार्यक्रममा समालोचक युवराज मैनाली र ‘शब्दपथ’का प्रधानसम्पादक आख्यानकार किशोर पहाडीले गीत र सर्जकभीमफेदीयाका सिर्जनात्मक प्रयत्नबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयाे । विशिष्ट अतिथि, साझा प्रकाशनका अध्यक्ष कवि शेखर गिरीले सुभाषचन्द्रसँग आफ्नो दीर्घ परिचय स्मरण गर्दै शुभकामना व्यक्त गर्नुभयाे ।

पत्रकार श्रीराम सिंह बस्नेतको सहजीकरण रहेको कार्यक्रम अन्त्यमा अध्यक्ष लेकाली, प्रमुख अतिथि श्रेष्ठ र सर्जक भीमफेदीयासहित उपस्थित साहित्यकर्मीहरूले गीत तथा स्रष्टाको आगामी यात्राप्रति शुभेच्छा व्यक्त गर्नुभयाे ।