काठमाडौँ । कलामा सक्रिय युवाहरूको साझा समूह ‘कलाकाग’ले काठमाडौँको मैतिदेवीस्थित Happy Club मा आफ्नो दोस्रो प्रस्तुति कार्यक्रम ‘कलाकाग मेला २.०’ सम्पन्न गरेको छ। भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनपछि उत्पन्न मनोवैज्ञानिक तानाबाना र बेचैनीलाई सम्बोधन गर्दै शान्ति, कला र साहित्यलाई नजिक ल्याउने उद्देश्यसहित मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ।
मेला विभिन्न विधाका सिर्जनाकर्मीहरूको जमघटका रूपमा प्रस्तुत भएकाे थियाे । कृति अधिकारी, आलियन श्रेष्ठ, विजय लुईटेल, प्रमिला लुईटेल, रा, सारस, बिना नेमकुल, सुदर्शन, रजतलगायत १० जनाले कविता, कथा, गीत तथा अन्य सिर्जनाको सरसाझा गर्नुभयाे ।
कार्यक्रमको विशेष आकर्षण ‘मायाको पोखरी’ बोलको समूहगीत थियो, जसलाई रजत, भेनिषा, कृति र सारसले संयुक्त रूपमा प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा समावेशितालाई प्राथमिकता दिँदै ‘ओपन माइक’ को व्यवस्था पनि गरिएको थियो। समयसीमाका कारण ११ जना इच्छुकमध्ये गोलाप्रथाबाट छानिएका सृजन सुवेदी, शाल्भी र श्रद्धा महतले प्रस्तुति दिनुभएकाे थियाे ।
मेला अनुभवी र नव–प्रतिभाहरूको सुन्दर मेलजोलका रूपमा रह्यो। कवि तथा शिक्षण क्षेत्रमा क्रियाशील कृति अधिकारी वर्ड वारियर को कोर समूहसँग पनि सम्बद्ध हुनुहुन्छ । विजय लुईटेल ‘द पोएट आइडल’को दोस्रो सिजनका फाइनलिस्ट हुन्। उहाँको समयका खुकुला चप्पल नामक पुस्तक अहिले बजारमा उपलब्ध छ।
यस्तै, प्रमिला लुईटेल नेपाल एयरलाइन्सद्वारा आयोजित कविता प्रतियोगिताकी प्रथम विजेता हाे, र उहाँकाे लागि यो पहिलो औपचारिक कविता प्रस्तुति थियो।
लोकप्रिय गीत ‘रित्तिएको गाउँ’ का सर्जक ‘रा’ ले आफ्नै शैलीमा दर्शकलाई मोहित पाृनुभयाे ।
कार्यक्रममा श्रीगेन्द्रले पियानोमा साथ दिनुभएकाे थियाे भने डोल्मा लामाले पनि प्राविधिक तथा प्रस्तुतीकरणतर्फका कामहरूमा सहयोग गर्नुभएकाे थियाे । ‘कलाकाग’ अर्थात् कलामा लाग्ने कलाकारहरूको समूह ले कलाकारबीचको सहकार्य, साझा अभ्यास र कलाबाटै आत्मनिर्भर हुन सकिने भावना अघि सारेको छ। समूहका अनुसार, “कला कहिले चोटमा मलम, कहिले प्रश्न गर्ने औजार” दुवै हुन सक्छ।
मेला पूर्ण रूपमा सेल्फ–फन्डेड थियो। कार्यक्रमलाई @MG_Bakebar (मेघनाको कुकीज) र @coredeltav ले प्रचार–प्रसारमा सहयोग गरेकाे थियाे । Happy Club ‘स्थान तथा टिकटिङ पार्टनर’, KhajaSaja ‘फुड पार्टनर’ र Perfect Frames ‘भिडियो–फोटो पार्टनर’का रूपमा रहेकाे थियाे ।
कलाकागको औपचारिक यात्रा सन् २०२४ मे १२ (२०८१ वैशाख ३०) बाट सुरु भएको हो। हालसम्म ६ वटा ‘भेला’ र २ वटा ‘मेला’ सम्पन्न भइसकेका छन्।
समूहका अनुसार अर्को महिना पनि नयाँ कार्यक्रम ल्याइनेछ भने तेस्रो ‘मेला’ भने वसन्त ऋतुअघि नहुनेछ। कार्यक्रम सम्बन्धी जानकारी @kalakaags इन्स्टाग्राम पेजमार्फत उपलब्ध हुने बताइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ पुष २०८२, सोमबार 





