वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रमको तेस्रो शृङ्खला नोभेम्बर २९, शनिबार सम्पन्न भएकाे छ । अनेसासका संस्थापक साहित्यकार होमनाथ सुवेदीसँग पहिलो तथा अनेसासका पूर्व अध्यक्ष बसन्त श्रेष्ठसँग दोस्रो शृङ्खला सम्पन्न भइसकेपछि, तेस्रो शृङ्खलामा अनेसास केन्द्रकी प्रथम महिला अध्यक्ष सरला क्रिस्ट श्रेष्ठसँग सुरेन उप्रेतीले विस्तृत वाङ्मय विमर्श गर्नुभएकाे थियाे ।

रामेछापमा जन्मिनुभएकाे सरला श्रेष्ठ बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय रहिआउनुभएकाे छ । विद्यालय जीवनमै काठमाडौंका मूर्धन्य साहित्यकारहरूको समीपमा रहने अवसरले उहाँले साहित्यिक यात्रामा थप उर्जा र प्रेरणा पाउनुभएकाे  थियाे । कवि कृष्णप्रसाद पराजुलीको विशेष प्रेरणाले उद्देश्यबद्ध र गंभीर सिर्जनायात्रा अघि बढाउँदै उहाँले बि.सं. २०४४ सालमै आफ्नो पहिलो कविता सङ्ग्रह प्रकाशित गर्नुभएकाे थियाे । साथै, २०४५/४६ तिर उहाँका दुई नेपाली र दुई नेवारी गीतहरू रेकर्ड समेत भएकाे थियाे ।

पारिजात, कृष्णप्रसाद पराजुली, युगकवि सिद्धिचरण श्रेष्ठ जस्ता महत्त्वपूर्ण स्रष्टाको सान्निध्यले उहाँ निरन्तर सिर्जनामा तल्लीन रहनुभयाे । विशेषगरी देशमा देखिने प्राकृतिक प्रकोप, त्रासदी वा सामाजिक पीडाले उहाँलाई अत्यन्तै विचलित पार्ने गरेको छ। ती गहिरा वेदनाहरू शब्द र संगीतको माध्यमबाट व्यक्त गरिँदा मात्र मन हलुङ्गो हुने अनुभव उहाँ सुनाउँनुहुन्छ ।

हालसम्म उहाँका पाँच दर्जन गीतहरू रेकर्ड भइसकेका छन्, जसलाई उहाँले आफ्नै युट्युब च्यानल ‘SS Creation’ मार्फत श्रोतासम्म पुर्‍याउनुभएकाे  छ । उहाँका गीतहरू प्रतिष्ठित नेपाली गायक— मदनकृष्ण श्रेष्ठ, अञ्जु पन्त, शिव परियार, आनन्द कार्की, दिपा नारायण झा, करण परियार, कृती न्यौपाने, सदिक्षा कट्टेल, एलिना चौहान, राज सिग्देल, मिलन नेवार, बैना श्रेष्ठलगायतका स्वरमा लोकप्रिय बनेका छन्।

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण नै पहिचान जोगाउने मूल आधार हो भन्नेमा उहाँ दृढ हुनुहुन्छ । “घर–घरमा नेपाली भाषा बोलियो भने पहिचान आफैं सुरक्षित हुन्छ,” श्रेष्ठको धारणा छ। उहाँका माटोको महिमा, कोपिलाको पुकार, गुनासो, म हारेको छैन यो जिन्दगी, दुखेँ धेरै, अधिकार बाँडी देउ, दिल त दामी हजुरको, थाहा छैन आदि गीतहरू जनप्रिय बन्न सफल छन्।

हालै नेपालमा भएको जेनजी पुस्ताको आन्दोलन तथा बालबालिकामाथि भएका अमानवीय घटनाले स्तब्ध भएकी श्रेष्ठले ‘सुनौलो बिहान’ शीर्षकको आशावादी गीत सिर्जना गर्नुभएकाे छ । अन्याय र अत्याचारको अन्त्य हुँदै देश उज्यालोतर्फ अघि बढ्ने विश्वास बोकेको उक्त गीतलाई आनन्द कार्की र सदिक्षा कट्टेलले स्वर दिनुभएकाे छ ।

कार्यक्रमलाई साहित्य संवादको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।