अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस (३ डिसेम्बर २०२५) को अवसरमा डा. कमल लामिछानेद्वारा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०८२ सालका लागि तीन विधामा घोषणा गरिएको छ।
अपाङ्गता विषयक नकारात्मक धारणा परिवर्तन गर्दै समता, सहअस्तित्व र सम्मानजनक साझेदारीमा प्रेरित गर्ने उद्देश्यसहित २०७७ सालदेखि प्रदान हुँदै आएको यो पुरस्कार यस वर्ष देशभरका समावेशी विद्यालयहरू तथा पत्रकारितामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई लक्षित गरिएको छ।
समावेशी शिक्षा सञ्चालन भएका विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूमार्फत गरिएको सर्वेक्षणका आधारमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार र अन्तर्दृष्टि हातेमालो पुरस्कारका विजेता छ्नोट गरिएको हो। त्यस्तै, अपाङ्गता सम्बन्धी सकारात्मक दृष्टिकोण फैलाउन पत्रकारितामार्फत प्रभावकारी योगदान गर्ने पत्रकारलाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय पुरस्कार समिति—डा. कमल लामिछाने, होमनाथ अर्याल, सरिता लामिछाने र सुनिता थापाको—बैठकमार्फत लिइएको हो।
यस वर्ष अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार बागमती प्रदेश, काठमाडौंस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयका शिक्षक क्षेत्रबहादुर बुढाथोकीलाई प्रदान गरिनेछ। शिक्षण–सिकाइ गतिविधि, सामाजिक व्यवहार, तथा अपाङ्गताप्रतिको सकारात्मक दृष्टिकोणका कारण उनी विद्यार्थीहरूको उच्च मनोनयनका साथ छानिनुभएकाे हाे ।
त्यसैगरी, दृष्टिविहीन विद्यार्थीहरूसँग सहकार्य गर्दै सिकाइ आदानप्रदानमा उल्लेखनीय भूमिका खेलेको भन्दै अन्तर्दृष्टि हातेमालो पुरस्कार सोही विद्यालयकी कक्षा ८ की छात्रा प्रसिखा भट्टराईलाई प्रदान गरिनेछ।
अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, अवसर र समावेशी समाज निर्माणमा केन्द्रित पत्रकारितामार्फत निरन्तर योगदान गरिरहेकामा नेपाल टेलिभिजनकी आरती चटौत यस वर्षको अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारकी प्राप्तकर्ता बन्नुभएकाे छ ।
पुरस्कारसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको राशि २० हजार रुपैयाँ, हातेमालो पुरस्कार १० हजार रुपैयाँ र पत्रकारिता पुरस्कार १५ हजार रुपैयाँ तोकिएको छ। सबै पुरस्कारहरू आगामी वसन्तपञ्चमीका दिन प्रदान गरिने कार्यक्रम रहेको समितिले जनाएको छ।
छनोट प्रक्रियामा सहभागी विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन तथा प्रश्नावली निर्माण र सर्वेक्षणमा संलग्न व्यक्तिहरूप्रति अन्तर्दृष्टि पुरस्कार समितिले आभार व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यस सहकार्यको निरन्तरता रहिरहोस् भन्ने अपेक्षा व्यक्त गरेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




