काठमाडौँ ।  गजलकार देवेन्द्र के.सी. ‘देवु’का प्रेमिल पंक्तिहरू  कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वरमा गुन्जिँदा बुधबार सर्वनाम थिएटर मुग्ध बनेको थियो।
“नजरबाट कोही पस्यो दिल उघारी / चुमी यी अधरमा बस्यो दिल उघारी” जस्ता लोकप्रिय पंक्तिहरूले शुरूमै उपस्थित श्रोतालाई मन्त्रमुग्ध बनाएको कार्यक्रम निरन्तर ताली र ‘वाह–वाह’ ले गुञ्जिएको थियो। ‘बोकेर फूलपाती स्यूँदोभरी सजाई…’ लगायतका बान्कीदार गजल शेरहरूसहित सन्तोषले करिब दुई घन्टा विविध गजलहरू प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहको प्रस्तुति उत्तिकै मनोज्ञ बनेको थियो। सुरुवातमा गजलकार देवुको भिडियो प्रोफाइल प्रदर्शन गरिएको थियो।

गजल अभियन्ता घनेन्द्र ओझाले देवु र गायक सन्तोष श्रेष्ठको परिचय दिँदै विक्रम संवत् २०८० देखि २०९० सम्मको दशकलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’का रूपमा मनाइरहेको बताउनुभयाे । उहाँले गजल अभियानलाई सातै प्रदेश तथा विदेशसम्म लैजाने योजनासमेत व्यक्त गर्नुभयाे ।

गजलकार तथा संगीत मर्मज्ञ रवि प्राञ्जलले पछिल्लो समय नेपाली गजल गायनमा भइरहेको प्रगति प्रसंशनीय रहेको बताउनुभयाे । कार्यक्रमका प्रमुख अतिथि कवि एवं समालोचक प्रा. डा. देवी नेपालले शास्त्रीय बहरका गजलहरूलाई लोक–रङ मिसाएर सुन्दर ढङ्गले प्रस्तुत गर्न सकिने उदाहरण सन्तोषले दिएकाले नेपाली गजललाई नयाँ ऊर्जा मिलेको टिप्पणी गर्नुभयाे । उहाँले देवु प्रेम, प्रणयदेखि समसामयिक विषयमा समेत सशक्त कलम चलाउने स्रष्टा भएको उल्लेख गर्नुभयाे ।

अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण गजलकार ज्ञानु विद्रोहीले गर्नुभएकाे थियाे ।
नेपाली गजलको विकास, विस्तार र परिष्कारमा दुई दशकदेखि सक्रिय अनाममण्डलीको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर, गोल्डेन क्रियसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।