काठमाडौं । कवि डिल्लीराम शर्मा सङ्ग्रौलाको नयाँ कवितासङ्ग्रह ‘प्राची का सूर्य’ आज राजधानीस्थित पुतलीसडकको ग्रिनलिफ क्याफेमा एक समारोहबीच सार्वजनिक गरिएको छ।
समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका प्रिन्सिपल प्रा.डा. अक्कलदेव मिश्रले गर्नुभएको थियो भने प्रमुख अतिथि प्रा.डा. शैलेन्दुप्रकाश नेपाल रहनुभएको थियो।
कार्यक्रममा संग्रहमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा. अम्बिका अर्यालले सङ्ग्रौलाका कविता पठनीय र बहुरसिक रहेको उल्लेख गर्दै आगामी कृतिहरूले समकालीन साहित्यिक प्रवृत्तिलाई अझ सशक्त रूपमा समेटोस् भन्ने सुझाव राख्नुभयो। त्यस्तै टीयू हिन्दी केन्द्रीय विभागका प्राध्यापक विनोदकुमार विश्वकर्माले कविले शब्द–चयनमा देखाएको कौशलको प्रशंसा गर्दै पुस्तकमा भ्रष्टाचारविरुद्ध व्यङ्ग्य, सामाजिक असमानताप्रति असहमति, अभिभावकप्रतिको भावुकता र भूकम्प तथा कोभिड–१९ का त्रासदीपूर्ण अनुभूतिको मार्मिकता समेटिएको बताउनुभयाे ।
कार्यक्रममा जैन कवि कृष्ण प्रसाई, उर्दु गजलकार मोबिन खान, ‘द पब्लिक’ हिन्दी मासिककी सम्पादक वीणा सिन्हा, इमेज च्यानलकी समाचारवाचिका नबिना निरौला, ‘हिमालिनी’ अनलाइनकी सम्पादक कञ्चना झा लगायतका स्रष्टाहरूले शुभकामना व्यक्त गर्दै कृतिबाट कविता वाचन गर्नुभएकाे थियाे ।
प्रमुख अतिथि प्रा.डा. नेपालले कवि सङ्ग्रौलालाई आगामी दिनमा अझ परिष्कृत र प्रभावशाली कृतिहरू दिने अपेक्षासहित बधाई दिनुभयो।
धन्यवाद ज्ञापन गर्दै कवि सङ्ग्रौलाले पुस्तक विमोचन समारोहमा उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयाे ।
कार्यक्रमको सञ्चालन कवि सङ्ग्रौलाकी छोरी श्रद्धा सङ्ग्रौलाले गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




