पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराद्वारा आयोजित सत्रौँ वार्षिक साधारणसभा, ‘अवधारणा’ जर्नल (अङ्क–९) लोकार्पण तथा रचनावाचन कार्यक्रम शनिवार कन्या क्याम्पस नदीपुरको सभाहलमा सम्पन्न भएकाे छ ।
गाईपालन पेशामा ४० वर्ष बिताउनुभएकाे कृषक चूडामणि अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानले प्रकाशित गरेको ‘अवधारणा’ जर्नलको औपचारिक लोकार्पण गरिएकाे थियाे ।
प्रमुख अतिथि अधिकारीले विज्ञ तथा स्रष्टालाई गाउँघरका वास्तविक किसानका दुःख–सुख, अनुभव र संघर्षका कथाहरू लेखनमा समावेश गर्न आग्रह गर्नुभयाे । उहाँले कृषि क्षेत्रमा अनियन्त्रित विषादी प्रयोगका कारण मानव स्वास्थ्य जोखिममा परेको भन्दै किसानहरूलाई इमानदार, जिम्मेवार र दीगो कृषि अभ्यासतर्फ उन्मुख हुन प्रेरित गर्नुभयाे ।
कार्यक्रममा प्रतिष्ठानका सचिव डा. पिताम्बर पौडेलले प्रस्तुत गर्नुभएकाे वार्षिक प्रगतिपत्र र अनुपस्थित कोषाध्यक्षका तर्फबाट कार्यसमिति सदस्य लोकचन्द्र खनालले प्रस्तुत गर्नुभएकाे आर्थिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको थियो।
लोकार्पित जर्नलका प्रधान सम्पादक तथा उपाध्यक्ष डा. श्रीधर न्यौपानेले सम्पादकीय मन्तव्य प्रस्तुत गर्दै प्रकाशन प्रक्रियाका चुनौती र सृजनात्मक अनुभवहरू साझा गर्नुभयाे ।
कार्यक्रमको साहित्यिक सत्रमा १२ जना स्रष्टाले कविता, गीत, गजल, मुक्तक र लघुकथा वाचन गर्नुभएकाे थियाे ।
रचनावाचन गर्ने स्रष्टाहरू कमला खनाल, कृष्णप्रसाद तिमिल्सेना, डा. नवराज न्यौपाने, कल्याण पन्त, डा. ईश्वरमणि अधिकारी, कृष्णप्रसाद बाँस्तोला (राजु), टीकाराम वाग्ले, डा. भोलानारायण रेग्मी, चन्द्रावती वाग्ले, अम्बिकाप्रसाद भट्टराई, वसन्त चालिसे र डा. भूमिराज बस्ताकोटीले वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रमकै अवसरमा सीतापुण्य सिर्जनशील पुरस्कारका लागि विजयकुमार/भावना भट्टराईद्वारा स्थापना गरिएको एक लाख रुपैयाँको अक्षयकोषको प्रशंसापत्र प्रदान गरिएको थियो।
त्यसैगरी आठ जना नवप्रवेशीहरूलाई आजीवन सदस्यता प्रमाणपत्र र संरक्षक सदस्यका रूपमा भट्टराई दम्पतिलाई सम्मानपत्र प्रदान गरिएकाे थियाे ।
पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुखमा नवनियुक्त सुशील शर्मा भट्टराईलाई प्रतिष्ठानले बधाई तथा शुभकामना व्यक्त गरेकाे थियाे । संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षता, सहसचिव गायत्री पराजुलीको स्वागत मन्तव्य र सचिव डा. पिताम्बर पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
पूर्वअध्यक्षहरूको तर्फबाट डा. विष्णुप्रसाद शर्माले शुभकामना मन्तव्य दिनुभएकाे थियाे । कार्यक्रमका लागि खाजापानीको सौजन्य कृष्णप्रसाद बाँस्तोला र ब्यानर तथा अन्य खर्च डा. विष्णुप्रसाद शर्माका तर्फबाट रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




