दाङ । नेपाल मगर लेखक सङ्घ, दाङ शाखाको आयोजनामा शनिवार दाङको घोराहीमा मगर खाम भाषाको  कविगोष्ठी सम्पन्न भएको छ। विविध भाषिक पहिचान र सांस्कृतिक समृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा मगर खाम भाषादेखि खस नेपाली भाषासम्मका रचनाहरू वाचन गरिएकाे थियाे ।

गोष्ठीमा कवि विष्णु बुढामगर, श्यामसुन्दर घर्तीमगर, एच.बी. थापामगर, गायत्री घर्तीमगर, चन्द्रबहादुर पुनमगर, दर्जित रोकामगरलगायतले मगर खाम भाषाका कविता तथा गीत प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसैगरी यम रेग्मी, सुरेशकुमार पाण्डे, पुरन शर्मा, मिरा घर्तीमगर आदिले खस नेपाली भाषाका विविध विषयवस्तुका रचनाहरू वाचन गर्नुभएकाे थियाे ।

कार्यक्रम शाखा अध्यक्ष चन्दबहादुर पुनमगरको अध्यक्षता, नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. टीकाराम उदासीको प्रमुख आतिथ्य तथा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जित रोकामगरको विशेष आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ दाङ शाखाका अध्यक्ष चन्द्रबहादुर थापामगर, रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वली, नेपाल मगर संघका अनुशासन विभाग संयोजक कर्णबहादुर बुढामगर, नेपाल मगर संघ दाङका इन्चार्ज तथा केन्द्रीय सदस्य शीतलाल पुनमगर, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीलगायत वक्ताहरूले मगर खाम भाषाको संरक्षण, दस्तावेजीकरण र साहित्यिक उन्नतिमा यस्तो कार्यक्रम महत्वपूर्ण रहेको धारणा राख्नुभयाे ।

शाखा उपाध्यक्ष केशव स्थापित घर्तीमगरले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहभागीहरूलाई स्वागत गर्नुभएकाे थियाे भने सञ्चालन शाखा सचिव सरस्वती रोकामगरले गर्नुभएकाे थियाे ।

गोष्ठीमा दाङका विभिन्न लेखक, साहित्यकार, भाषाविद् तथा बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रह्यो।