वालिङ । उपन्यासकार छवि वैरागी घिमिरेद्वारा लिखित दोस्रो औपन्यासिक कृति ‘विविशारा’ विषयक विमर्श तथा सिर्जना वाचन समारोह–२०८२ शनिबार वालिङ–६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। स्याङ्जामा सञ्चालन हुँदै आएको ‘साहित्यिक पुनर्जागरण’ कार्यक्रमको छैटौँ वर्षोत्सवसँगै वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ को ३७औं पाइलाका रूपमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

समारोहको पहिलो चरणमा उपन्यास ‘विविशारा’ माथि केन्द्रित रहेर साहित्यकारहरू—लक्ष्मीप्रसाद रेग्मी र शान्ता थापाले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएकाे थियाे । दुबै वक्ताले उपन्यासमा प्रस्तुत अलौकिक प्रेम, विश्वास र जीवनदर्शनलाई प्रशंसनीय रहेको बताउँदै कृतिले समकालीन नेपाली आख्यानलाई नयाँ दृष्टिकोण दिएको उल्लेख गर्नुभयाे ।

कार्यक्रममा लेखक छवि वैरागी घिमिरेले ‘विविशारा’ लेखनयात्राबारे आफ्नो मन्तव्य राख्दै प्रेम, विस्फोट र पुनर्जीवनका तहहरूलाई कथा–संरचनामा कसरी बुनेको भन्ने बारे अनुभव साझा गर्नुभएकाे थियाे । संस्कृतमा आचार्यसम्मको औपचारिक शिक्षा लिनुभएकाे घिमिरे हाल मोरङको सुन्दरहरैँचामा बस्दै आउनुभएकाे छ । छन्दकविता, आख्यान र पत्रकारितामा सक्रिय घिमिरेका करिब एक दर्जन बढी कृतिहरू प्रकाशित छन् भने थुप्रै प्रतिष्ठित सम्मानबाट सम्मानित भइसक्नुभएकाे छ ।

फिनिक्स बुक्स, काठमाडौंले प्रकाशित गरेको ‘विविशारा’ उपन्यासले “संसारमा अलौकिक प्रेम अझै मरेको छैन” भन्ने मूल सन्देश बोकेको छ, जसले विश्वास र धैर्यको शक्तिबारे पाठकलाई स्मरण गराउँछ।

कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संस्थापक संयोजक युवा कवि मिलन समीरले गर्नुभएकाे थियाे । स्वागत मन्तव्य युवा कवि युवराज सुवेदीले राख्नुभएकाे थियाे ।

समारोहको दोस्रो चरण सिर्जना वाचनमा समर्पित थियो, जहाँ स्रष्टाहरू विष्णु पङ्गेनी पाण्डे, बोधराज न्यौपाने, राजु गैह्रे, लीलाप्रसाद रेग्मी, अग्निकुमार रेग्मी ‘पल्लव’, कमलप्रसाद बगाले, इन्द्रप्रसाद पाठक, झवनाथ बस्याल, दमकुमारी बगाले, युवराज सुवेदी, वसन्त खनाल, प्रेमप्रसाद सुवेदी, दिलीप तिवारी, ढालबहादुर के.सी., लेखनाथ काफ्ले, शम्भु अर्याल, अनन्त अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनीलगायतले आफ्ना उत्कृष्ट कविता, गजल तथा कथांश वाचन गर्नुभएकाे थियाे ।

कार्यक्रमको समापनमा आयोजकले कार्यक्रममा सहभागी सबै स्रष्टा तथा उपस्थित सरोकारवालाप्रति आभार व्यक्त गर्दै यस प्रकारका साहित्यिक अभियानले स्याङ्जाको साहित्यिक वातावरण अझ समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभएकाे थियाे ।