उद्धव देवकोटा
नवलपरासी । साहित्य परिषद्, नवलपरासीको आयोजनामा विशेष कविता वाचन तथा स्रष्टा सम्मान समारोह लुम्बिनी माध्यमिक विद्यालय, सुनवलको सभाहलमा भव्य रुपमा सम्पन्न भएको छ। परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेको अध्यक्षता, सुनवल नगरपालिका प्रमुख विमला अर्यालको प्रमुख आतिथ्य र कपिलदेव पङ्गेनीको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रमको सञ्चालन भविश्वर पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा सयभन्दा बढी स्रोताहरूको उपस्थितिले सभाहल काव्यमय बनेको थियो।

प्रत्येक वर्ष विभिन्न विधाका स्रष्टालाई सम्मान गर्दै आएको साहित्य परिषद्, नवलपरासीले यस वर्ष तीन प्रतिभालाई सम्मान प्रदान गरेको छ।

साहित्य परिषद् लोकदोहोरी सम्मान– लोकगायक भूपराज न्यौपानेलाई, साहित्य परिषद् संगीत सम्मान– गायक/संगीतकर्मी गमबहादुर हमाललाई, साहित्य परिषद् वास्तु सम्मान– वयोवृद्ध कलाकार चमबहादुर थापालाई प्रदान गरिएकाे छ । सम्मानित स्रष्टाहरूले आफ्नो अनुभव, यात्रा र सिर्जनाका पक्ष साझा गर्दै साहित्य परिषद्को निरन्तर योगदानको उच्च प्रशंसा गर्नुभएकाे थियाे ।

कार्यक्रमको मुख्य आकर्षण विशेष रचना वाचन रहेको थियो। सरु ज्ञवाली, उद्धव देवकोटा (रुपन्देही), लेखराम सापकोटा, सीतादेवी पौडेल (नवलपरासी बसुपू), हरि भट्टराई (पाल्पा), तिलक भट्टराई ‘अन्जान’ र विन्दु खनालले कविता, गजल, मुक्तकदेखि विभिन्न साहित्यिक विधाका मौलिक सिर्जना प्रस्तुत गर्दै सभालाई मोहित बनाउनुभएकाे थियाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विमला अर्यालले साहित्यकारलाई देशका गहना भन्दै साहित्य समाजकाे संस्कार, सभ्यता र सांस्कृतिक पहिचान जोगाउने माध्यम भएको बताउनुभयाे । नगरपालिकाले आफ्ना योजना तथा कार्यक्रमहरूमा साहित्यलाई प्राथमिकतामा राख्दै आएको समेत उहाँले स्पष्ट पार्नुभयाे  ।

परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्यौपानेले संस्थाले सञ्चालन गर्दै आएकाे सिर्जनात्मक कार्यक्रमहरू सफल बनाउन साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ बृहत् र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रम सांस्कृतिक रंग, काव्यिक वातावरण र साहित्यिक आत्मीयतासहित सकिएको साहित्य परिषद्, नवलपरासीले जनाएको छ।