हिउँको टोपी –ऋषिराम अर्याल
कवि ऋषिराम अर्यालको कविता सङ्ग्रह हो ‘हिउँको टोपी’ । कविले सङ्ग्रहमा सामाजिक बेथिती, कुरिती, देश प्रेम समसामयिक परिस्थिति माथी प्रहार गर्नुभएको छ ।
देश
सबैले लेखेको देश
सबैले हेरेको देश
र सबैले देखेको देश
हेर्नै नसक्ने गरी फाँटेको छ
इतिहास टाल्नै नसक्ने गरी च्यातिएको छ
अनन्त पीडा भोगेको देश
अस्मिताको हमलामा रोहिरहेछ
यत्तिखेर
अस्मितामाथि हमला गर्न मनहरू
उँचो भई उठिरहेछन्
लुटको भोगाइ पनि आदर्श हुँदो रहेछ क्यारे
खै कुन आँखाले त्यस्तो देख्यो
निस्पट्ट आँखाहरू धेरै देख्छन् भन्थे
सायद त्यस्तै भयो क्यारे
इतिहासका पानाबाट गुज्रदै गएको देश
वितण्डाले उकुस मुकुस भएको सयम
जो आफैं पचाउन नसक्दा
आफै बलात्कृत भएको ठान्दछ
आक्रान्त मुटु लिएर रोहिरहेको देश
बुद्धत्व प्राप्त गर्न जङ्गल पसेको पनि बसौं भइसक्यो
बुद्ध मेरो हो भन्दै हिँडेको पनि त बसौं भइसक्यो
त्यसैले पनि होला
कथाहरू मर्माहत भएका
वर्तमानमा देश यथार्थ हुन सकिरहेको छैन
सकिरहेको छैन शताब्दीको सचित्र बन्न
देशसँग लुट्नुको अर्थमा
समयसँग हातहरू बढिरहेछन् नङ्ग्रा फिजाउँदै
देश लुटिरहेको छ भित्रबाट
देश लुटिरहेको छ बाहिरबाट
अझ भनौँ लुटिरहेछन् जसले जहाँ सक्छ त्यहाँबाट ।
पुस्तकलाई राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको छ । एक सय ३६ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




