नेपाली कथा साहित्यको इतिहासमा उचित पहिचान नपाउनुभएकाे तर वि.सं. २०१० को दशकमै रूपरेखा, गोरखापत्र, दिपकजस्ता प्रतिष्ठित पत्रपत्रिकामा कथा प्रकाशित गरिसक्नुभएकाे साहित्यकार स्व. केशवप्रसाद आचार्य (१९८८–२०५६) का कथाहरूको सङ्ग्रह सार्वजनिक गरिएको छ।
कथाकार अमोद भट्टराईले सम्पादन गरेको उक्त सङ्ग्रहमा आचार्यद्वारा लिखित ८ वटा कथा समावेश छन्। पुस्तकमा विस्तृत सम्पादकीय–आलेख पनि समावेश गरिएको छ, जसले नेपाली आधुनिक कथाको प्रारम्भिक विकासमा आचार्यको योगदानलाई पुनःस्थापित गर्ने प्रयास गरेको छ।
ललितपुरमा प्रकाशन संस्था शूत्रले आयोजना गरेको विशेष समारोहमा स्व. आचार्यकी ८७ वर्षीया पत्नी श्रीधरा आचार्य, प्रख्यात समालोचक गीता त्रिपाठी, तथा संविधानविद् भीमार्जुन आचार्यले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयाे ।
स्व. केशवप्रसाद आचार्य साहित्य, पत्रकारिता र राजनीतिमा एकसाथ सक्रिय व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्याे । वि.सं. २००५ मा १७ वर्षकै उमेरमा नेपाललाई स्वतन्त्र बनाउने राजनीतिक अभियानमा सहभागी हुँदै उहाँ गणेशमान सिंहको साथसाथै रक्सौलसम्म निर्वासनमा पुग्नुभएकाे थियाे । जीवनभर उहाँ प्रजातन्त्र, सामाजिक चेतना र निरन्तर साहित्यिक सिर्जनामा समर्पित रहनुभयाे ।
समारोहमा वक्ताहरूले प्रस्तुत सङ्ग्रह नेपाली कथा साहित्यको हराएको इतिहास पुनःअभिलेखित गर्ने महत्वपूर्ण कडी भएको मूल्यांकन गर्नुभयाे । उहाँका कथाहरू केवल साहित्यिक दस्तावेज मात्र नभई नेपाली राजनीति, शिक्षा र पत्रकारिताका केही ओझेल परेका कालखण्डहरू बुझ्न सशक्त स्रोतका रूपमा रहने उल्लेख गरियो।
विशेषगरी प्रजातन्त्र पुनःस्थापनाका वर्षहरूमा आचार्यले गर्नुभएकाे उद्देश्यमूलक पत्रकारिता (mission journalism) का प्रयासहरूबारे समेत कार्यक्रममा विस्तृत चर्चा गरिएको थियो।
आचार्यका कथाहरू समेटिएको यो नयाँ प्रकाशनले नेपाली साहित्यको भुलिँदो इतिहास उजागर गर्ने र एक महत्त्वपूर्ण कथाकारलाई पुनःस्मरण गराउने कार्य गरेको साहित्यिक समुदायले टिप्पणी गरेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




