काठमाडौं । साहित्यिक पुस्तक प्रकाशनमा अग्रणी शिखा बुक्सले विजया दशमीको उपलक्ष्यमा पाठकहरूको बिदाको समय उपलब्धीमूलक बनाउन भनेर विभिन्न विधाका सात पुस्तक बजारमा ल्याएको छ । शिखाले उपन्यास महारानी का लागि मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँको नयाँ कृति भौज्याहा सहित विभिन्न विधाका सात पुस्तक बजारमा ल्याएको हो ।

भौज्याहाका अलवा पुरूषोत्तम बस्नेतको ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’, डा. बद्री नारायण गौतमको ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’, डा शोभाकर पराजुलीको ‘समाजवाद र बी.पी. कोइराला’ र साहित्यकार भीष्म उप्रेतीको निबन्धसंग्रह ‘हिमाल शेर्पा र यती’ ले पुस्तक–बजारमा उपस्थिति जनाइसकेको छ । त्यस्तै टंक चौलागाईंको आख्यान ‘उबडखाबड’ र शान्ति शर्माको कथासंग्रह ‘ग्रीन टावेल’ले पनि पाठकहरूको मन जितिरहेको छ ।

‘फरक साहित्यिक रङ र स्वादका यी सात पुस्तकले पाठकहरूलाई पुस्तक–इन्द्रेणीको महसुस गराउनेमा ढुक्क छौँ ।’ शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेल साहित्यपोस्टसँग कुरा गर्दै भने, ‘पुस्तकहरू पाठकका हात हातमा पुगिसकेकाले निकै सकारात्मक प्रतिक्रियाहरू पनि आउन थालिसकेका छन् । हामी निकै उत्साहित छौँ ।’

यससँगै केही दिनमा नै वरिष्ठ गीतकार स्व. रत्नशमशेर थापा को ‘घुम्तीमा नआऊ है’ र वरिष्ठ साहित्यकार पुस्कर लोहनीको उपन्यास ‘अदृश्य मान्छे’ का साथमा प्रमोद प्रधानको अनुसन्धनात्मक कृति ‘बालसाहित्यको इतिहास’ प्रेसमा जाने अन्तिम तयारीमा रहेको समेत पौडेलले जनाएका छन् ।