१९ औं चरणको सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसी सत्यग्रहको २२ औं दिन पुगिसक्दा पनि उनको मागका सम्बन्धमा सरकारले न कुनै औपचारिक छलफल र वार्ताको पहल नगरेकामा साहित्यकारहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै र उनको सत्याग्रहमा ऐक्यबद्धता प्रकट गरेका छन् ।
संविधानले निर्दिष्ट गरेको नागरिकको स्वास्थ्य, कर्णाली लगायतका दुरदराजमा अस्पताल खोल्ने लगायत जनताका महत्त्वपूर्ण मागमा सरकारको अनौठो मौनताप्रति स्रष्टाहरूले गम्भीर आपत्ति जनाएका छन् ।
‘स्वास्थ्य क्षेत्रलाई माफियाको चंगुलबाट मुक्त गर्न र सुशासन कायम गराउने विषयमा एकजना प्रतिष्ठित डाक्टरले लगातार सत्याग्रह गर्न बाध्य हुनुपर्ने अवस्था सृजना हुनु सरकारमा बस्नेहरुका लागि लज्जास्पद विषय हो, स्रष्टा समूहले जारी गरेको प्रेसविज्ञप्तिमा भनिएको छ, ‘यसले हामी कस्तो लोकतन्त्रको अभ्यास गरिरहेका छौँ भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।’
‘डा. केसीको निष्ठाको यो लडाइँमा लामो मौनता देखाउँदा सरकारको चरित्र उदाङ्गो मात्रै भएको छैन सरकार उत्रनै नसक्ने गरी माफियाको चंगुलमा छ भन्ने देखाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
हरेक सरकार केसीका मुद्दामा लाचार देखिएको भन्दै यसले नागरिकका प्रति सरकारी दृष्टिकोण प्रष्ट भएको तथा स्वास्थ्य, शिक्षा र सुशासनमा केन्द्रित भएर सुरु भएको डा. केसीको सत्याग्रह अब देशको सुशासन र समग्र बेथितिको अन्त्यको लागि समेत समर्पित रहेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा सबै अनियमितता र अन्योलको मुल चुरो भ्रष्टाचार र शासकको बेइमानी नै हो । जसका कारण डाक्टर केसी बारम्बार आफ्नो जीवन दाउमा राखेर निस्वार्थ अहिंसात्मक सत्याग्रहको हतियार उठाउन बाध्य भएको बताउँदै डा. केसीले नेपालीको स्वास्थ्य, शिक्षा र सुशासनका लागि पटक पटक सत्याग्रह जस्तो जीवन-मरणको अन्तिम अस्त्र प्रयोग गर्नुपर्ने विडम्बना कहिलेसम्म हो ? भनी स्रष्टाहरूले प्रश्न गरेका छन् ।
स्वार्थै-स्वार्थले आक्रान्त समयमा निःस्वार्थ रुपमा एकजना नायक अहिंसात्मक आन्दोलनमा जुटिरहेका र उनको यो एकल निष्ठा र इमानको दियोले असल मान्छे र परोपकारी भावना अझै जीवित छ भन्ने आशा जगाएको पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अहिंसा र शान्तिको मार्ग बाट आफूलाई कष्ट दिएर भोक प्यास खपेर जनताको माग सम्बोधन गर्न लगाउने डाक्टर केसीको अभियान स्तुत्य र बन्दनीय रहेको बताउँदै डा. केसीको जीवन जोखिममा पर्नु कीमार्थ स्वीकार्य छैन । डाक्टर केसीका मागहरु पूरा गर्न र उनको जीवन रक्षा गर्न हामी स्रष्टाहरु सरकारसँग जोडदार माग गर्दछौँ भनिएको छ ।
विज्ञप्तिमा कवि तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान पूर्व सदस्यसचिव तीर्थ श्रेष्ठ, कवि तथा पत्रकार भोजराज न्यौपाने, कवि श्रीबाबु कार्की उदास, कवि तथा पत्रकार ठाकुर बेल्वासे, कवि तथा पत्रकार मणि लोहनी तथा कवि हेमन्त विवशले हस्ताक्षर गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।