काठमाडौं । काव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको भावपूर्ण गीत ‘बित्छ बिहान आमाको’ सार्वजनिक गरिएको छ।
डा. यज्ञश्वर निरौलाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो। विशिष्ठ गायिका ज्ञानु राणाको स्वर र कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीतमा तयार भएको गीत दाहालको चर्चित कृति ‘योद्धा’बाट रूपान्तरण गरिएको हो। संगीतकार श्रेष्ठले काव्यको मूल भाव र छन्दभंग नहुनेगरी अत्यन्त सावधानीपूर्वक गीत निर्माण गरिएको बताउनुभयाे ।
मिलापको आयोजनामा साहित्यकार लेखनाथ पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै गीता अधिकारीले पछिल्लो समय मिलापले गर्दै आएको साहित्यिक र सांगीतिक गतिविधिको चर्चा गर्नुभयाे।
कार्यक्रममा डा. बुनु दाहालले खेमनाथ दाहालको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै उहाँ साहित्यमा विशिष्ट शैलीका स्रष्टा भएको बताउनुभयाे । कलाकार उत्तम केसीले ‘आमा’ विषयमा आधारित गीतका शब्द अत्यन्त मार्मिक र हृदयस्पर्शी रहेको उल्लेख गर्नुभयाे। गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले दाहाल साहित्यकार मात्र नभई सक्षम गीतकार पनि भएको धारणा राख्नुभयाे।
जनकविकेशरी धर्मराज-सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन थापाले गीतको समीक्षा गर्दै पछिल्लो समय यस्ता स्तरिय शब्दमा गीत कम बन्न थालेको भन्दै ‘बित्छ बिहान आमाको’ उत्कृष्ट सिर्जना रहेको टिप्पणी गर्नुभयाे। गायिका ज्ञानु राणाले पनि दाहालका शब्द अत्यन्त सशक्त र भावनात्मक रहेको बताउनुभयाे ।
काव्यकार दाहालले ‘योद्धा’ काव्य निर्माणको पृष्ठभूमि सुनाउँदै कृतिमा समावेश पंक्तिहरूलाई सन्तोष श्रेष्ठ र ज्ञानु राणाको संगतिमा गीतका रूपमा प्रस्तुत गर्न पाउनु खुसीको विषय रहेको बताउनुभयाे । प्रमुख अतिथि डा. निरौलाले ‘योद्धा’ काव्यलाई महाकाव्यको उचाइमा पुर्याउनुपर्ने सुझाव राख्दै गीत साहित्य र संगीतको साझा पहिचान बन्न सफल भएको बताउनुभयाे ।
गीतमा राजु कार्कीको संगीत संयोजन, दिल समर्पणको संगीत संयाेजन र प्रकाश मिश्रको संगीत सम्पादन गरिएको छ। भिडियोसमेत राजन खरेलले सम्पादन गर्नुभएकाे हाे।
खेमनाथ दाहालको काव्यकृति ‘योद्धा’ सन् २०६० सालमा प्रकाशित भएको हो। सोही कृतिबाट केही दिनअघि ‘लाली गुराँसको साटो’ पनि सार्वजनिक भइसकेको छ। त्यसैगरी दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट ‘बुद्धको देश नेपाल’ शीर्षक गीत सन्तोष श्रेष्ठकै स्वर र संगीतमा सार्वजनिक भइसकेको छ।
तेह्रथुम लाब्रीका साहित्यकार दाहालका ‘श्वेतपत्र’, ‘रश्मि’, ‘श्रद्धाञ्जलि’, ‘योद्धा’, ‘हावर्डको चौतारीमा’, ‘म त बन्दी भएको छु’ जस्ता कवितासंग्रह, ‘यात्राको सिकर्नी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास र ‘सिर्जनामा दृष्टि’ भूमिकासंग्रह प्रकाशित कृतिहरू हुन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 







