काठमाडौँ । कवि निरञ्जना चन्द ‘निरू’को नयाँ कविता–सङ्ग्रह वनफूलको विद्रोह रत्न पुस्तक भण्डारमार्फत सार्वजनिक भएको छ।

सुर्खेत सिम्ता–साहुखोला जन्मस्थल र बर्दिया कर्मथलो भएकाे निरू पछिल्ला वर्षयता कवितामा निरन्तर सक्रिय रहँदै आउनुभएकाे छ । यसअघि उहाँकाे सङ्ग्रह साइनो (२०७६), निरूपण (२०७७) र विभिन्न पत्रपत्रिकामा छरिएर प्रकाशित फुटकर कविता–गजलले उहाँलाई समकालीन काव्य–मञ्चमा छुट्टै पहिचान दिलाइसकेका छन्। उहाँले २०७७ को लुम्बिनी प्रदेशस्तरीय कविता प्रतियोगितामा पहिलो, नेपाल प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव (२०७८) मा तेस्रोलगायत २०८० मा साहित्य सदनद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा दोस्रो स्थान हासिल गरेपछि उहाँको निरन्तरता अझै स्वीकृत हुँदै आएको छ।

‘वनफूलको विद्रोह’का कविता समाज, संस्कृति, प्रकृति र समयका विसङ्गतिमाथिको तीक्ष्ण दृष्टिले भरिएका छन्। राउटेनी समुदायको पीडा, नारीमाथिको विभेद, छाउपडी, दहेज, बालविवाहदेखि धार्मिक कट्टरपन्थसम्म कविले प्रसङ्गगत रूपमा उठान गर्नुभएकाे छ । बदलिंदो समयसँगै चेतनाको उज्यालो फैलिनुपर्ने चाहना उहाँको लेखनभरि अनुभूत हुन्छ।

प्रकृतिका बिम्ब, प्रतीक र सहज गद्य–लयमा बुनिएका कविताले निरूको शैलीलाई प्रभावकारी बनाएको समीक्षकहरूको अभिमत छ। यस कृतिलाई उहाँको सिर्जनात्मक यात्राको नयॉ उचाइका रूपमा टिप्पणी गरिएको छ।
सङ्ग्रहभित्रका कविता सामाजिक परिवर्तन, स्त्री अधिकार, मानवीय संवेदना र चेतनाको स्वर बनिरहेका छन्। साहित्यिक क्षेत्रमा यो कृति समकालीन नेपाली कविता अभ्यासमा एउटा अर्थपूर्ण थपिएको योगदानका रूपमा हेरिएको छ।

वि.सं. २०८२ को पहिलो संस्करणका रूपमा प्रकाशित कृतिको मूल्य रू. ३९५ तोकिएको छ। पुस्तकको आवरण डिजाइन वसन्तराज अज्ञातले तयार पार्नुभएकाे छ।