काठमाडौँ । कवि तथा गीतकार टीका चाम्लिङको शब्द–संगीतमा तयार पारिएको नयाँ गीत ‘मान्छेसित…’ सार्वजनिक भएको छ।
टीका चाम्लिङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले जीवनका उतार–चढाव, मनोवैज्ञानिक अवस्था र मानवीय द्वन्द्वलाई गहिरो रूपमा चित्रण गर्छ।
गीतलाई गायिका रीमा गुरुङ होडाले भावपूर्ण स्वरमा प्रस्तुत गर्नुभएकाे छ । गीतका पंक्तिहरूले ‘मानिसमा पुण्य–पाप, आश–आस्था सबै मनस्थितिनै हो’ भन्ने दार्शनिक भावलाई कलात्मक ढंगले व्यक्त गर्छ।
“त्यही बाटो, त्यही भञ्ज्याङ… कोही भीरमा लड्न सक्छ, कोही शिरमा चढ्न सक्छ” जस्ता पंक्तिबाट गीतले जीवनको परिस्थिति–निर्भर यथार्थलाई उभ्याएको छ। गीतको एरेञ्ज फणिन्द्र राई, रेकर्ड–मिक्स–मास्टरिङ सुमन खड्काले गर्नुभएकाे हाे । गीत पर्पल स्टुडियो, नक्सालमा रेकर्ड गरिएको हो। कोरसमा दीपा तामाङ, मोनीका राई र दीपा सुहाङ लिम्बूको स्वर रहेकाे छ।
गीतका निर्माता सुस्नेहा मगर हुन्। भिजुअल पक्षमा सहायक क्यामेरा सुजन गिरी र आशिष कुरुम्बाङ लिम्बू, मेकअपमा रविना लिम्बू, सम्पादन/रङ/पोस्टरमा समीर आङबुहाङ लिम्बूले जिम्मेवारी सम्हाल्नुभएकाे छ । पोस्ट–प्रोडक्सन ताप्लेजुङ मिडिया हाउस र जस्केलो क्रिएसनले गर्नुभएकाे हाे ।
गीत निर्माण टिमले सुस्नेहा मगर, रीमा गुरुङ होडा, राई नबिन, रक्षा राई, नाना चाम्लिङ ‘सरिता’लगायत कला–संगीतकर्मी र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
गीतको मूल रचना २०७९ साउन ८ गते भक्तपुरमा तयार गरिएको हो। चाम्लिङको यो नवीन सिर्जनालाई वर्तमान समयका मनोवैज्ञानिक यथार्थ र मानवीय संवेदनालाई कलात्मक ढङ्गले उतार्न सफल मानिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










