‘पहलमानसिंह स्वार मार्ग’को पहिचान पुनःस्थापित गर्न पहलमानसिंह स्वार स्मृति प्रतिष्ठानले माग गरेको छ । वि.स. २०६३ साल पुस १७ गते नेपाल राजपत्रमा प्रकाशित सूचनालाई लागू गर्दै यस मार्गको पहिचान स्थापित गराउन सरोकारवालासँग प्रतिष्ठानले माग गरेको हो ।

डोटी जिल्लाको सिलगढीदेखि अछामको साँफेबगरसम्मको ६७ किलोमिटर सडक खण्डको नामकरण ‘पहलमानसिंह स्वार मार्ग’ गर्दै ०६३ सालमा नेपाल सरकारले सूचना प्रकाशित गरेको थियो । यो सूचना नेपाल राजपत्र, भाग ४, खण्ड ५६ को ३५ क्रमसंख्यामा प्रकाशित छ ।

सडकखण्डको नामकरण गरेको दुई दशक बितिसक्दा मार्गको पहिचान स्थापित हुनुपर्नेमा उल्टै संकटमा परेको प्रतिष्ठानले गुनासो गरेको छ । सडकखण्डमा राखिएको ‘पहलमानसिंह स्वार मार्ग’ नामांकित बोर्डहरू संरक्षणको अभावमा हराएर गएका छन् । यसको संरक्षण तथा मर्मतमा स्थानीय, प्रदेश तथा संघीय तीनै सरकारले चासो पर्न नसकेको प्रतिष्ठानले बताएको छ ।

वि.स. १९३५ सालमा अछामको रिडिकोटमा जन्मिनुभएको पहलमानसिंह स्वारले नेपाली साहित्य, त्यसमा पनि नाटकका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ । उहाँका अलटलबहादुर, साकुन्तल, विष्णुमाया, लालु भाक्रा रत्नावली लगायत तीन दर्जन कृतिहरू रचना गर्नुभएको छ ।

साहित्य, संस्कृति र स्रष्टा समाजका ऐना र सभ्यताका संवाहक हुन् । स्रष्टाको योगदानलाई समाजले कदर तथा सरकारले उच्चा संरक्षण गर्नुपर्ने आवश्यकता रहन्छ । यस्तोमा नेपाल सरकारले राजपत्रमै प्रकाशित गरिसकेको सडकखण्डको पहिचान नै संकटमा पर्नु दुःखत् रहेको प्रतिष्ठानले जनाएको छ ।