पोखरा ।  माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालले संस्थानायक माधव वियोगीको जन्मदिनको अवसरमा विभिन्न पुरस्कार र सम्मान प्रदान गरेको छ। पोखरा बेलघारीस्थित प्रतिष्ठानको अनुष्टुप सभाकक्षमा आयोजित समारोहमार्फत उक्त सम्मानहरू वितरण गरिएको हो।

प्रतिष्ठानका सचिव शिव त्रिपाठीका अनुसार माधव वियोगी साहित्य पुरस्कार नवलपुर गैँडाकोटका कवि गोविन्दराज विनोदीलाई प्रदान गरिएको छ। उहाँले करिब पाँच दशकदेखि कविता–काव्यको समुन्नतिको लागि निरन्तर साधना गर्दै आउनुभएकाे छ । स्वास्थ्य समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएकाेले पुरस्कार प्रतिष्ठान अध्यक्ष नवराज बरालले ग्रहण गर्नुभएकाे थियाे ।

त्यसैगरी नेपाली नाटकको विकासमा उल्लेख्य योगदान दिएको भन्दै नाट्यकर्मी कृष्ण उदासी र बालकविता क्षेत्रमा आधुनिक शैली अपनाई उत्कृष्ट सिर्जना गर्दै आउनुभएकाे बालसाहित्यकार रमेशचन्द्र घिमिरेलाई माधव वियोगी सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ। साहित्य पुरस्कारको राशि २५ हजार तथा अन्य सम्मानहरूको राशि पाँच–पाँच हजार रूपैयाँ रहेको संस्थाकाे प्रमुख संरक्षक सरिता घिमिरेले जानकारी दिनुभयाे।

समारोहका प्रमुख अतिथि कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले प्रतिष्ठानले वाङ्मयको प्रवद्र्धनमा महत्वपूर्ण काम गर्दै आएको उल्लेख गर्दै सम्मानित तीनै स्रष्टालाई बधाई दिनुभयाे । कार्यक्रममा पठाईएको विनोदीको लिखित अभिव्यक्ति सचिव त्रिपाठीले वाचन गर्नुभएकाे थियाे ।

समारोहमा छन्दनायक माधव वियोगीले वाङ्मय विकासमा बाँकी समय अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै “छन्द र लय बचाउनु नै जीवनको मूल ध्येय हो” भन्नुभयाे । विशिष्ट अतिथि प्रा.डा. जगन्नाथ रेग्मीले पुरस्कृत स्रष्टाहरू योग्य र योगदानशील रहेको टिप्पणी गर्नुभयाे।

सम्मानित स्रष्टा उदासी र घिमिरेले सम्मानले आफूहरूलाई थप सृजनात्मक यात्रामा प्रेरणा मिलेको बताउनुभयाे । कार्यक्रममा छन्दिका त्रिपाठी, आर्या त्रिपाठी, रमा खतिवडा, छविलाल आचार्य, गायत्री पराजुली, लक्ष्मी थापा लगायतले कविता वाचन गर्नुभएकाे थियाे ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न भएको थियो। सञ्चालन सचिव शिव त्रिपाठी र स्वागत उपाध्यक्ष छन्दमणि त्रिपाठीले गर्नुभएकाे थियाे ।