भक्तपुर । भक्तपुरको कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्केटमा शनिबार आयोजित ‘हास्यव्यङ्ग्य फित्कौली सभा’मा हास्य–व्यङ्ग्य विधा मार्फत सिर्जनात्मक योगदान पुर्‍याउने छ जना स्रष्टा सम्मानित हुनुभएकाे छ।

फित्कौली हास्यव्यङ्ग्य अनलाइन डटकमद्वारा आयोजित कार्यक्रममा डा. रमेश शुभेच्छुले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको परिचय प्रस्तुत गर्नुभएकाे थियाे। मुकुन्द आचार्य (बारा)लाई रु २० हजार एक सय पाँच रूपियाँ सहित सम्मान गरिएको थियो भने डम्बर घिमिरे, मानिक रत्न शाक्य, शेषराज भट्टराई, कविराज घिमिरे र डिल्लिप्रसाद मुलति पनि पुरस्कृत हुनुभएकाे छ। हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको अध्यक्षता र प्रा.डा. माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तीन कृति—देवीप्रसाद चापागाईको ‘बक्रपुराण’, भलाद्मी भोलाको ‘घोप्टेयुग’ र रमेश समर्थनको ‘बदनाम आँचल’—सार्वजनिक गरिएकाे थियाे ।

‘बक्रपुराण’ माथि डा. हरिप्रसाद सिलवालले र ‘घोप्टेयुग’ माथि नवराज खतिवडाले समीक्षा प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा रोहित दाहाल, पार्वती दाहाल र टंक दाहालले ‘मेरा बा’ शीर्षकमा हास्य प्रस्तुति गर्नुभएकाे थियाे भने सुबोध गौतम, धिरेन्द्र प्रेमर्षि र रणबहादुर बुढाथोकीले हास्यव्यङ्ग्य प्रस्तुति दिनुभएकाे थियाे । साथै विश्वनाथ ढुंगेल (नुन बाजे), सीताराम गुरुङ र थरेन्द्र कराललगायतका कलाकारले सांगीतिक प्रस्तुति दिनुभएकाे थियाे ।

प्रमुख अतिथि पोखरेलले हास्य–व्यङ्ग्य समाज परिमार्जनमा प्रभावकारी माध्यम रहेको उल्लेख गर्दै खासगरी राजनीतिमा देखिएका विकृतिलाई सच्याउन यसको भूमिका महत्वपूर्ण हुने बताउनुभयाे। कार्यक्रममा साहित्य, कला र पत्रकारितासँग सम्बन्धित व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।