सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद्, लालबन्दीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ साहित्यकार रमेश क्षितिजको आख्यान ‘एउटा मायी नगरमा’ लाई प्रदान गर्ने निर्णय गरेको छ।
स्वतन्त्र विज्ञहरूसहितको छनोट समितिले चयन गरेका उत्कृष्ट दस कृतिमध्येबाट क्षितिजको कृति उत्कृष्ट ठहरिएको परिषद्ले जनाएको छ।यस्तै ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८२’ लामो समयदेखि पत्रकारिता र साहित्य सिर्जनामा सक्रिय कृष्ण समर्पणलाई प्रदान गरिने भएको छ। स्थानीय प्रतिभा पुरस्कारको राशि रु २५ हजार र भाषा तथा साहित्य पुरस्कारको राशि रु ५० हजार रहेको परिषद्ले जनाएको छ।
त्यसैगरी परिषद्ले ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२’ साहित्यकार दिनेश अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ। राणा शासनविरुद्ध साहित्यिक प्रतिरोध अभिव्यक्त गर्दै ‘मकैकाे खेती’ पुस्तक लेख्नुभएकाे साहित्यिक सहिद कृष्णलाल अधिकारीको स्मृतिमा स्थापना गरिएको कोषको ब्याजबाट वर्ष २०८१ देखि यो पुरस्कार दिन थालिएको हो।
नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घ योगदान पुर्याउँदै आउनुभएकाे दिनेश अधिकारीलाई यस वर्षको पुरस्कार प्रदान गरिने परिषद् अध्यक्ष अच्युत अधिकारीले बताउनुभयाे। पुरस्कारमा रु ५० हजार र सम्मानपत्र रहनेछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




