कोहलपुर । नेकपा–माओवादी निकट प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को जीवन, साहित्यिक योगदान र राजनीतिक चिन्तनबारे कोहलपुरमा विशेष विमर्श कार्यक्रम आयोजना गरिएको छ।
जनयुद्धको समयमा गिरफ्तारीमा परी लामो समय दाङलगायतका विभिन्न जेलहरूमा राखिएकाे इच्छुक चरम यातनाका बीच पनि निरन्तर लेखनमा सक्रिय प्रगतिशील स्रष्टा मानिनुहुन्छ । अन्ततः महेन्द्र पुलिस क्लबमा यातनाका कारण उहाँको निधन भएको थियो। काठमाडौँको जेलमा रहँदा लेखिएकाे उहाँकाे बन्दी र चन्द्रागिरी खण्डकाव्य प्रगतिवादी साहित्यका उत्कृष्ट कृति मानिन्छन्। प्युठानमा जन्मेर अर्घाखाँची र दाङको देउखुरीमा बाल्य तथा युवाकाल बिताउनुभएकाे इच्छुकको जीवन राजनीतिक प्रतिबद्धता र सृजनशीलताका कारण विशेष चर्चित रहँदै आएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव सनत रेग्मीले इच्छुक सच्चा कम्युनिस्ट तथा जनयुद्धको कठोर समयमै पनि सिद्धान्त र मान्यताप्रति अटल व्यक्तित्व भएको उल्लेख गर्नुभयाे। रेग्मीले युद्धकालीन भेटघाटका केही रोचक प्रसङ्ग पनि प्रस्तुत गर्नुभयाे।
राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले इच्छुकका विचार सरल तर स्पष्ट रहेको उल्लेख गर्दै उहाँका साहित्यिक र राजनीतिक दुवै यात्रामा एकरुपता देखिने बताउनुभयाे । अर्का वक्ता डा. खोपीराम वली क्षेत्रीले इच्छुकको जीवनी, साहित्य, पत्रकारिता र राजनीतिक चिन्तनका विविध पाटो प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’, भागवत खनाल, वागेश्वरी क्याम्पसका प्रमुख दानबहादुर हमाललगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे। त्यसैगरी कवि लक्ष्मण मानव, देवकी निरौला, अपिल लम्साल, दीपक शाहीलगायतले इच्छुकप्रति समर्पित कविताहरू वाचन गर्नुभएकाे थियाे । महाकवि देवकोटा, इच्छुकसहितका अमर सर्जकहरूको सम्झनामा मौन धारण गरिएको कार्यक्रम काठमाडौँ, प्युठान, बाँके, दाङ र बर्दियाका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति बीच सम्पन्न भएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष डा. पुष्कर रिजालको अध्यक्षतामा, सह–सचिव प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रमको सहजीकरण सचिव केशव निमेषले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




