काठमाडौं । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुने मासिक कथावाचन कार्यक्रमको चौबीसौँ शृङ्खला सम्पन्न भएको छ।

कथा विधाप्रतिको रुचि बढाउने, यसको कालखण्डगत विकासमा चिन्तन, छलफल र अनुसन्धानलाई प्रोत्साहन गर्दै समग्रमा नेपाली कथा साहित्यलाई सुदृढ बनाउने उद्देश्यसहित सन् २०८० साउनदेखि साहित्यकारद्वय पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईको परिकल्पनामा यो अभियान सुरु गरिएको हो।

कार्यक्रमको परम्परा अनुसार यसपटक दिवंगत स्रष्टा विश्वेश्वरप्रसाद कोइराला र सुशीला कोइरालाको संयुक्त कथा ‘द्वन्द्वप्रेम’ बाट वाचन सत्र प्रारम्भ भएको थियो। ऐतिहासिक साहित्यिक पत्रिका शारदा (वर्ष ६, संख्या १, वि.सं. १९९७) मा प्रकाशित उक्त कथा पवित्रा अधिकारीले वाचन गर्नुभएकाे थियाे ।

यसपछि २०४० देखि २०७० को दशकमा प्रकाशित चार ओटा कथाहरू प्रतिष्ठित कथाकारहरूले वाचन गर्नुभएकाे थियाे ।

कथाकार इस्मालीले वेदना पत्रिकाको कथा अंक (२०४३) मा प्रकाशित ‘घर’ शीर्षकको कथा (कथासङ्ग्रह ‘माछो माछो भ्यागुतो’ बाट) धीरकुमार श्रेष्ठले नेपाल (वर्ष ३, अंक २०, १६–३१ जेठ २०६०) मा प्रकाशित ‘मर्ने एउटा कोठा’ गंगा कर्माचार्य पौडेलले २०६७ मा नारीस्वर मा प्रकाशित ‘छोराको कमाइ’ बिन्दु अधिकारी ढकालले कथासङ्ग्रह ‘मावली दिदी’ (२०७७) बाट ‘बुहार्तन’ शीर्षकको कथा वाचन गर्नुभएकाे थियाे ।

वाचन गरिएका कथाहरूको समीक्षात्मक टिप्पणी समीक्षक मोहन चापागाईं र ज्ञाननिष्ठ ज्ञवालीले प्रस्तुत गर्नुभएकाे थियाे।  कार्यक्रमका परिकल्पनाकार पुष्कर लोहनीले चौबीसौँ श्रृङ्खलासम्म आइपुग्दा लेखक, पाठक, पत्रकार र समालोचकहरूको सहभागिता बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयाे। कार्यक्रमकाे सञ्चालन उपन्यासकार शुकदेव उपाध्यायले गर्नुभएकाे थियाे । उपाध्यायले एकै कार्यक्रममा धेरै कथा वाचन गर्ने पुरानो शैलीलाई परिमार्जन गरी चार कथामात्र वाचन गरी तिनकै समीक्षा गर्ने प्रणालीले कार्यक्रमको गरिमा बढाएको बताउनुभयाे।

कार्यक्रममा कथाकार इन्दिरा प्रसाई, मधुवन पौडेल, निर्मोही व्यास, समिना खनाल पृथा तथा कथा साहित्यप्रेमीहरू हरिबोल आचार्य, वीणा पोखरेल, महालक्ष्मी लोहनी, बालचन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो।

पुनर्जागरण अभियान अन्तर्गतको यो मासिक कार्यक्रम शुरुदेखि नै साहित्यकार पुष्कर लोहनीको डिल्लीबजार, घट्टेकुलोस्थित सभाकक्षमा आयोजना हुँदै आएको छ। आयोजकका अनुसार वि.सं. २०७० को दशकभित्र पुस्तक वा पत्रिकामा प्रकाशित आफ्ना कथा वाचन गर्न इच्छुक लेखकहरूले अग्रिम नाम दर्ता गराएर सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।