काठमाडौँ। कुनै समयको बहुचर्चित गीत ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ का सर्जक तथा गायक प्रकाश पौडेल आफ्नो २५ वर्षे साङ्गीतिक यात्राको अवसर पारेर नयाँ गीत लिएर आउनुभएकाे छ । पछिल्लो समय ज्योतिषको समेत परिचय बनाउनुभएकाे गायक पौडेलले ‘बुढा बुढी मिलेको कमिलाले चिलेको’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएकाे छ।

ओएसआर म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको यो गीत विशेषगरी टिकटकमा रमाउने दर्शकहरूलाई लक्षित गरी सृजना गरिएको गायक पौडेलले बताउनुभयाे ।

पहिलो एल्बम ‘थ्रि मच’ देखि अहिलेसम्म ६ वटा एल्बम सार्वजनिक गरिसक्नुभएकाे गायक पौडेलले लामो समय साङ्गीतिक क्षेत्रबाट टाढा रहनुको कारण पनि खुलाउनुभएकाे छ । “वित्तीय क्षेत्रमा जागिर, त्यसपछिको समयमा ज्योतिष विद्याको अध्ययन र अभ्यासले गर्दा सङ्गीतलाई समय दिन पाइरहेको थिइनँ,” ज्योतिष गायक पौडेलले भन्नुभयाे, “यो गीतपछि केही ग्याप गर्दै सङ्गीत क्षेत्रलाई पनि समय दिने योजना बनाएको छु।”

‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ का अतिरिक्त ‘कसैलाई नभन्नु ल’, ‘डक्टर साब भिटामिन लेख्दिनु’, ‘तितेपाती तितेपाती घाँस काट्ने खुर्केर’, लगायतका लोकप्रिय गीत गाउनुभएकाे पौडेलले यस कोसेलीलाई आफ्नो २५औँ वर्षको सङ्गीत यात्राको विशेष उपहार भन्नुभएकाे छ ।

सञ्चारकर्मी एवं निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको यस भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथमा गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, सुधीर सापकोटा लगायतका कलाकारहरूले अभिनय गर्नुभएकाे छ ।