काठमाडौं । साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘व्यथित साहित्य सम्मान’ यस वर्ष साहित्यकार डा. तुलसीप्रसाद भट्टराईलाई प्रदान गर्ने भएको छ।
संस्कृतमा आचार्य, राजनीतिशास्त्रमा स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि प्राप्त गर्नुभएकाे डा. भट्टराई भाषा–साहित्य, अनुवाद, पत्रकारिता तथा सामाजिक–राजनीतिक क्षेत्रमा सक्रिय योगदान दिँदै आउनुभएकाे प्रखर व्यक्तित्व हुनुहुन्छ। उहाँ साझा प्रकाशनका पूर्व महाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य–सचिव रहिसक्नुभएकाे छ। नेपाली भाषाको अध्ययन, अनुसन्धान, अनुवाद, सम्पादन, कथा, उपन्यास, नियात्रा, जीवनी, निबन्ध, कविता–काव्य र समालोचनासम्मका विविध विधामा उहाँकाे तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्।
२०२५ सालदेखि निरन्तर साहित्य–सेवामा समर्पित रहँदै आउनुभएकाे डा. भट्टराईको दीर्घकालीन योगदानका कदरस्वरूप उहाँलाई यस वर्षको ‘व्यथित साहित्य सम्मान’ प्रदान गर्ने निर्णय गरिएको साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले जनाएको छ।
नगद राशि रु. ३० हजार सहितको सम्मान यही कार्तिक २८ गते (शुक्रबार) दिउँसो १२ः३० बजे साहित्य सदन नेपालको सभाकक्षमा आयोजना हुने विशेष समारोहमा अर्पण गरिने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ मंसिर २०८२, बुधबार 




