ह्यारिसवर्ग । साहित्य परिषद् भुटान स्थापनाको ३३औं वर्षको अवसरमा ११औं सम्मेलन अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित ह्यारिसवर्गमा सम्पन्न भएको छ।
सन् १९९३ मा नेपाली भाषा परिषद् भुटान नाममा स्थापना भएको यो संस्था समयक्रममा रूपान्तरित हुँदै अहिले साहित्य परिषद् भुटान नामले परिचित छ। संस्थाका संस्थापक अध्यक्ष गंगाराम लामिछानेकै अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो।
कार्यक्रममा परिषद्को अवधारणात्मक प्रस्तुति, विविध कार्यपत्र प्रस्तुतिहरू, सांस्कृतिक कार्यक्रम, कविता वाचन, र पुरस्कार तथा सम्मान वितरणजस्ता विविध गतिविधिहरू भएकाे थियाे ।
कार्यक्रमको सुरुवातमा परिषद्की बोर्ड अफ डाइरेक्टर तथा लेखिका तीला अधिकारी आचार्यले स्वागत मन्तव्य दिनुभएकाे थियाे।
गीत–संगीत क्षेत्रमा योगदान पुर्याउने कलाकार गोविन्द हुमागाईं, अमर तुम्बापो र छवि न्यौपानेलाई सुक्रा स्मृति पुरस्कार प्रदान गरिएको थियो। जनही पाँच सय डलर राशिको उक्त पुरस्कारको प्रायोजन मनोज राईले गर्नुभएकाे थियाे ।
त्यसैगरी, अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्मा, आइतसिं राई, विश्वनाथ क्षेत्री, रत्न गुरुङ, अमल थुलुङ, छत्रपति फुँयाल र रमेश दियालीलाई विशेष सम्मान अर्पण गरिएको थियो। ‘सञ्चमान ज्यो ज्यो’ कृतिका लेखक कृष्ण सुब्बा मुना स्मृति पुरस्कारबाट सम्मानित हुनुभयाे, जसको राशी एक हजार पाँच सय डलर थियो। उक्त पुरस्कार भक्त घिमिरेको सौजन्यमा प्रदान गरिएको हो।
सम्मेलनमा कुवेर कुईंकेलको कविता सङ्ग्रह ‘अन्त्यको सुरू’ विमोचन गरिएको थियो। कृतिबारे समीक्षक शिवलाल दाहालले मन्तव्य दिँदै कविको प्रयोगशील शैलीको प्रशंसा गर्नुभएकाे थियाे । कृतिकार कुईंकेलले पनि आफ्ना धारणा राख्दै कवितांश वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेले परिषद्को दीर्घकालीन योगदानको सराहना गर्दै नेपाली भाषा र साहित्यको विश्वव्यापी विस्तारमा यस्ता परिषद् महत्त्वपूर्ण माध्यम भएको बताउनुभयाे । समीक्षक शिवलाल दाहालले “नेपाली भाषा विरासत दिवस–एक अवधारणा” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा क्यानाडा च्याप्टरका निर्देशक खगेन्द्र गौतम र कृष अधिकारीले संयुक्त रूपमा ‘पुनर्वासपछिको नेपाली साहित्य’ विषयमा डिजिटल प्रस्तुति दिनुभएकाे थियाे । त्यसैगरी, आर.पी. सुब्बाले सेरापी कलेजका विद्यार्थी दिनको स्मरण गर्दै भूटानकालीन चुनौतीपूर्ण अवस्थाबारे अनुभव सुनाउनुभएकाे थियाे । राम–गीता मन्दिरका संस्थापक गीता खत्री र राम खत्रीले कवि तथा गीतकार खेम रिजाललाई सामाजिक अभियन्ता र साहित्यमा योगदानका लागि नेरू ५० हजार सहित कदरपत्र प्रदान गर्नुभएकाे थियाे ।
गीतकार मनोज राईले कार्यक्रमको थिम गीत प्रस्तुत गर्नुभएकाे थियाे । सांस्कृतिक कार्यक्रममा कवि माधव घिमिरेको गीत “लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो” मा यनेश खतिवडा, अदिति कुईंकेल, आदित्य कुईंकेललगायत बालबालिकाले नृत्य प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसैगरी “देउरालीमा वरपीपल” गीतमा दिव्य घिमिरे, दीपशिखा घिमिरे, घरिष्मा तिम्सिना र आयुषा चापागाईंले नृत्य प्रस्तुति दिनुभएकाे थियाे ।
बसुधा रिजाल, सुधा खतिवडा, इन्दु चुहान र सविना भट्टराईले संयुक्त रूपमा शार्दूलविक्रीडित छन्दमा कविता गाउनुभएकाे थियाे ।
गजल तथा कविता वाचन सत्रमा गण्डकी पुत्र, लीला निशा, भागी फुयाल, देविका बराल, तुम्बेहाङ लिम्बु, द्रौपदी प्रधान, पदम विश्वकर्मा, दीपेश चापागाईं, भरत तिम्सिना र रश्मी भट्टलगायतका स्रष्टाहरूले रचना वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो। धन्यवाद ज्ञापन भक्त घिमिरेले गर्नुभएकाे थियाे भने सभाको समापन अध्यक्ष गंगाराम लामिछानेले गर्नुभएकाे थियाे। कार्यक्रमको सञ्चालन परिषद्का सचिव कवि तथा गीतकार खेम रिजालले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




