मोरङ । भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका उद्देश्यले स्थापित संस्था ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले साहित्यकार हर्कमान तामाङको संयोजनमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
शनिवार बेलबारीमा सम्पन्न पहिलो बैठकले सल्लाहकार समितिको रूपमा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा (सुनसरी), कवि तथा आख्यानकार डा. छवि वैरागी घिमिरे (मोरङ), अग्रज स्रष्टा केशव आचार्य (झापा) र कवि तथा समीक्षक मिश्र बैजयन्ती (मोरङ)लाई चयन गरेको हो ।
संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’काे अनुसार आवश्यकता र औचित्यका आधारमा सल्लाहकार सदस्य थपिँदै जाने निर्णय गरिएको छ । बैठकले संस्थापकहरूको निर्धारण र वार्षिक कार्ययोजना समेत पारित गरेको छ ।
परिषद्ले भाषा, साहित्य तथा कला/संस्कृति सम्बन्धी तीन विभाग गठन गरी संयोजक तोकेको छ । भाषा विभागमा वासु अधिकारी (मोरङ) साहित्य विभागमा रोमु अधिकारी (सुनसरी) कला तथा संस्कृति विभागमा राज यात्री लम्साल (मोरङ)
हरेक विभागमा ११/११ जना व्यक्तित्वहरूलाई सदस्यका रूपमा मनोनयन गरिएको छ । आवश्यकता अनुसार विभागीय सदस्य थपिँदै जाने पनि निर्णय भएको अध्यक्ष केशु विरहीले जानकारी दिनुभयो ।
अध्यक्ष विरहीका अनुसार परिषद्ले औपचारिकभन्दा पनि गुणस्तरीय र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
उहाँले भन्नुभयो, “पछिल्लो समय धेरै संस्थाले कार्यक्रमका लागि मात्र कार्यक्रम गर्दै आएका छन् । तर, हामी फरक ढंगले, सहकार्यका माध्यमबाट प्रभावकारी कार्यक्रमहरू गर्नेछौँ । हाम्रो विशेष जोड सङ्ख्यामा थोरै तर सार्थक काममा हुनेछ ।”
परिषद्ले यस वर्ष प्रकाशन, लोकार्पण र साहित्यिक विमर्शलगायतका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




