स्याङ्जा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा शनिबार स्याङ्जाको बलमाटामा “देवकोटा साहित्य उत्सव–२०८२” भव्य रूपमा सम्पन्न भएको छ ।

स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका पुस्तकालय, भीरकोट–७, बलमाटाको संयुक्त आयोजनामा तथा भीरकोट नगरपालिका वडा नं. ७ को विशेष सहयोगमा सम्पन्न यो उत्सव स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक आयोजित महत्वपूर्ण कार्यक्रमका रूपमा दर्ज भएको छ ।

कार्यक्रममा स्याङ्जाका समकालीन कवि, गजलकार र मुक्तककारहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएकाे थियाे  । मुक्तक वाचनमा विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, विक्रम संवत, मुनाल गोदार र शोभाकान्त रेग्मी सहभागी हुनुहुन्थ्याे ।
गजल वाचनमा लक्ष्मी काफ्ले, दिलीप तिवारी, खगेन्द्रजंग थापा, कृष्ण खड्का, नारायण न्यौपाने र झवनाथ बस्यालले प्रस्तुति दिनुभएकाे थियाे  ।
त्यस्तै, कविता वाचनमा चिन्तु गिरी, अग्निकुमार रेग्मी पल्लव, अनन्त अर्याल, दुर्गाबहादुर रोकाहा, शालिकराम लम्साल, चण्डिकाप्रसाद भट्टराई, लोकहरि पाण्डेय क्षितिज, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यमप्रकाश खनाल, हरिप्रसाद पङ्गेनी, ढालबहादुर के.सी., राजेन्द्रकुमार श्रेष्ठ, कमला अधिकारी सिग्देल, प्रेमबन्धु सुवेदी, प्रकाश न्यौपाने चौरासपति, राजु गैह्रे, शम्भु अर्याल, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, सुबोध रेग्मी, हिमाङ्शु अर्याल र हिमालयजंग बानियाँ सहभागी हुनुहुन्थ्याे  ।

उत्सवको उद्घाटन गर्दै भीरकोट नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ताराप्रसाद अर्यालले देवकोटा साहित्य उत्सव स्याङ्जाको साहित्यिक इतिहासमा नयाँ आयाम ल्याउने कार्यक्रम भएको बताउँदै आगामी दिनमा पनि यस्ता साहित्यिक क्रियाकलापमा वडाको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले स्याङ्जाको समग्र साहित्यिक उन्नयनका लागि सहकार्य र सिर्जनशील कार्यक्रमहरूलाई अभियानका रूपमा अघि बढाइने जानकारी दिनुभयो ।

सभाध्यक्ष तथा कालिका पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालले स्याङ्जाको साहित्यिक माहोल अझ विस्तार गर्न यस्ता कार्यक्रम निरन्तर गरिने बताउनुभयो । कार्यक्रममा कविता, गजल र मुक्तक वाचन गर्ने स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै, मिलन समीरले कालिका पुस्तकालयका लागि रु. २० हजार बराबरका पुस्तकहरू व्यक्तिगत रूपमा उपहारस्वरूप अर्पण गर्नुभयो ।

स्वागत मन्तव्य कालिका पुस्तकालयका उपाध्यक्ष डोलराज पौडेलले प्रस्तुत गर्नुभएको थियो भने समग्र कार्यक्रमको सहजीकरण उत्सवका संयोजक तथा स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव मिलन समीरले गर्नुभएको थियो ।

स्याङ्जा साहित्य प्रतिष्ठानको स्थापना वि.सं. २०५२ सालमा भएको हो । यसको मुखपत्र ‘रजस्थल साहित्यिक त्रैमासिक’ पत्रिकाको १०३ अंक प्रकाशित भइसकेको छ ।
कालिका पुस्तकालयको स्थापना वि.सं. २०२६ साल जेठ २६ गते प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको हो भने दर्ता प्रक्रिया २०७६ सालमा अध्यक्ष श्यामप्रसाद अर्यालको नेतृत्वमा सम्पन्न भएको थियो । पुस्तकालय हाल कालिका क्याम्पस, भीरकोट–७, बलमाटामा अवस्थित छ ।