काठमाडौं । कवि कृष्ण उदाशीको कविता कृति ‘पानीको पर्खाल’ काठमाडौंमा सार्वजनिक गरिएको छ। सर्वनाम थिएटरमा आयोजित विशेष समारोहबीच उक्त कृतिको विमोचन गरिएको हो।
कार्यक्रममा अग्रज कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा समीक्षक डा. अशोक थापा, उपन्यासकार जयराम तिम्सिना र कृतिकार कृष्ण उदाशीले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएकाे थियाे।
समीक्षक डा. अम्बिका अर्याल र डा. अशोक थापाले कृतिबारे आफ्नो धारणा प्रस्तुत गर्नुभएकाे थियाे । डा. अर्यालले कवि उदाशीको शब्द प्रयोग र अभिव्यक्तिको कलात्मकता प्रशंसनीय रहेको बताउँदै कविताहरू सामान्य पाठकका लागि गहिरा र दार्शनिक रहेको उल्लेख गर्नुभयाे । अर्का समीक्षक डा. थापाले ‘पानीको पर्खाल’ भित्रका कविताहरू शालीन र शक्तिशाली रहेको बताउँदै त्यसमा श्रमिक जीवनका अनुभूतिहरूलाई बलियो रूपमा प्रस्तुत गरिएको टिप्पणी गर्नुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि श्रवण मुकारुङले कृतिको प्रशंसा गर्दै भन्नुभयाे, “कविता भनेको सार र दर्शनमा बाँच्ने कला हो। यी सम्पूर्ण तत्व यो कृतिमा सशक्त रूपमा झल्किएको अनुभूति हुन्छ।”
विमोचन समारोहमा कवि उदाशीले भन्नुभयाे, “काठमाडौले सधैं मोफसलका सर्जकलाई पर्खालभित्र थुन्छ। त्यस पर्खाल भत्काउने प्रयासको प्रतीक हो यो ‘पानीको पर्खाल’।” उहाँले आफ्ना कविता ‘हिउँद र मेरा बा’ तथा ‘गाउँ र आमाहरू’ वाचन गरी उपस्थित दर्शकलाई भावुक बनाउनुभएकाे थियाे ।
सञ्चालक महेश क्षितिजले ‘बाबुको गर्भ’ कविता वाचन गर्दै कार्यक्रमको सुरुवात गर्नुभएकाे थियाे । सो अवसरमा राधा कँडेल, महेश पौडेल र चन्द्रवीर तुम्बापोले पनि कृतिभित्रका कविता वाचन गर्नुभएकाे थियाे ।
कार्यक्रममा गायक-संगीतकार राजनराज शिवाकोटी, गायक गौरभ दर्पण, प्रा.डा. जनार्दन घिमिरे, उपन्यासकार श्याम सिंहक, कवि मिथोच, विशाल नाल्बो, योगमाया दाहाल, शरद अधिकारीलगायत पाँच दर्जनभन्दा बढी सर्जक तथा शुभचिन्तकहरूको उपस्थिती रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 




