काठमाडौं । नेपाली काव्य र साहित्यको उन्नयनका लागि साढे दुई दशकदेखि सक्रिय संस्था एपेक नेपालको आयोजनामा कोसी प्रदेशको इटहरीमा ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’को दोस्रो शृंखला सम्पन्न भएको छ।
महोत्सवको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कवि मनु मञ्जिलको कविता ‘दुस्मन’का केही हरफ वाचन गर्दै गर्नुभएकाे थियाे। उद्घाटनका क्रममा मुख्यमन्त्री कार्कीले विकास भनेको सडक र पुल निर्माण मात्र नभई साहित्य, कला र संस्कृतिको पनि उत्थान हो भन्नुभयाे, “कला, साहित्य र संस्कृतिको विकासमा कोसी प्रदेश सरकारको पूर्ण सहयोग रहनेछ।”
कार्यक्रममा प्रदेशसभा सदस्य तथा काव्यमहोत्सवकी सल्लाहकार कवि मीना श्रेष्ठले इटहरीमा एउटा साहित्यिक भवन निर्माणको पहल भइरहेको जानकारी दिनुभयाे । उहाँले उक्त प्रयोजनका लागि प्रदेश सरकारको सहयोग अपेक्षा गर्नुभएकाे थियाे । सो अवसरमा पर्यटनमन्त्री सदानन्द मण्डलले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे।
उद्घाटन सत्रमा एपेक नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठ र कार्यकारी निर्देशक कवि राजेन्द्र शलभले आगामी वर्षको काव्यमहोत्सव मधेस प्रदेशमा आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयाे ।
कार्यक्रमको दोस्रो चरणमा सातै प्रदेशका १४ कविहरूका कवितामा आधारित १४ चित्रकारका कलाकृति प्रदर्शनी गरियो। मुख्यमन्त्री कार्कीले कवि र चित्रकारको संयुक्त सृजनालाई अवलोकन गर्दै प्रदर्शनीको उद्घाटन गर्नुभयाे ।
तेस्रो चरणमा १४ कविले आफ्ना कविता वाचन गर्नुभयाे, जसै बेला चित्रकारहरू कविताका भावसँगै चित्र कोर्ने कार्यमा संलग्न हुनुहुन्थ्याे। कवि अस्मिता विष्टको कवितामा डिल्लीकृष्ण आले, र धीरज राईको कवितामा पवन राजवंशीले चित्र कोर्नुभएकाे थियाे ।
त्यस्तै, मनोज लोहार, एलिशा एकलास, रोशन तिमिल्सिना, रसिक राज, गणेश श्रमण, कल्पना पलक, खेम बतास, सपना कर्ण मनोरमा, निकेश गिरी, चन्द्र जीएम, लक्ष्मण मानव र मोहित जोशीका कवितामा क्रमशः सञ्जय वान्तवा, जेपी चौधरी, शिव छाङ्छा राई, सुसन धिमाल, युवराज रिजाल, तिलक राई, अनुराधा थापा, यशोदाकुमारी सिंह, नारदमणि हार्तम्छाली, विक्रम श्री र महेन्द्र राईले चित्र कोर्नुभएकाे थियाे ।
स्थानीय कविहरूका अनुसार काव्यमहोत्सवले विभिन्न प्रदेशका कविहरूका शक्तिशाली कविता सुन्ने अवसर प्रदान गरेको छ। कार्यक्रममा कवि र चित्रकारबीचको सृजनात्मक सहकार्यले नेपाली साहित्य र कलाको साझा अभिव्यक्तिलाई नयाँ आयाम दिएको बताइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 




