काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रले प्रहरी हिरासतमा रहँदा लेखेका कविताहरूको संग्रह ‘माथिको आदेश छ’  लोकार्पण गरिएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा कवि मिश्रले जेन–जी पुस्ताका युवासँग संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयाे । उहाँले भन्नुभयाे, “नेपालमा हिरासतमा बसेर आत्मसंस्मरण र दैनिकी लेखिएका छन्, तर कविता लेखिएको थाहा छैन। त्यस अर्थमा यो पुस्तक नेपाली सन्दर्भमा नयाँ प्रयोग हो।”

मिश्रका अनुसार संग्रहका कविताहरू “हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद” हुन्। ५० दिनको हिरासत बसाइमा उहाँले ३५ कविता लेख्नुभएकाे थियाे, ती सबै यस संग्रहमा समावेश छन्। उहाँले कार्यक्रममा ‘माथिको आदेश छ’ र ‘म राज्यविरुद्धको कसुर भएँ’ लगायत कविताहरू वाचन गर्नुभयाे ।

मिश्रले भन्नुभयाे, “हिरासतमा हुँदा कविताका सोचहरू लगातार दिमागमा फुरे, र ती सोचलाई कवितामा रूपान्तरण गर्न सकें। यी कविता बाध्यात्मक संसर्गका सन्तान हुन्।”

संग्रहबारे कवि तथा गीतकार नवराज लम्सालले टिप्पणी गर्दै भन्नुभयाे, “रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरूपमा अवतरित भएका छन्। यस संग्रहमा सूक्ष्म कथ्य र बलियो काव्यप्रवाह दुवै छन्।”

त्यस्तै, पद्मश्री साहित्य पुरस्कार विजेता कवि नवराज पराजुलीले भन्नुभयाे, “मिश्रको इमानदारी नै उनका कविताको सौन्दर्य बनेको छ। पत्रकार, परोपकारी वा राजनीतिज्ञको छविबाट मुक्त भएर उनले कवितामा कवित्वको सच्चो स्वर पाएका छन्।”

‘माथिको आदेश छ’ मिश्रको दोस्रो कवितासङ्ग्रह हो। यसअघि उहाँको पहिलो पुस्तक ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशित भएको थियो। उक्त कवितासङ्ग्रह फाइनप्रिन्ट प्रकाशनले बजारमा ल्याएको हो।