पोखरा । फाइनप्रिन्ट बुक्सको आयोजना रर्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ‘फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ सम्पन्न भएको छ। तीन फरक सत्रमा विभाजित उत्सवमा पुस्तक, लेखक र जीवनका विविध आयामबारे सजीव संवाद भएको थियो।
कार्यक्रमको पहिलो सत्रमा साहित्यकार सुबिन भट्टराई र नायिका सनिशा भराईबीच भट्टराईको पछिल्लो कृति ‘चमेली फूल बैजनी रुमाल’ पुस्तकमा केन्द्रित संवाद भयो। भट्टराईले पुस्तक लेखनबारे आफ्ना अनुभव सुनाउँदै भन्नुभयाे, “कुनै कथा मष्तिष्कमा लामो समय बसिरह्यो भने त्यो लेख्नुपर्छ भन्ने आत्मनिर्देशन मिल्छ। यो पुस्तकका कथा पनि मेरा भित्र धेरै समयदेखि रहिरहेकाे थिएँ।” उहाँका अनुसार पुस्तकका कथाहरू हरेक व्यक्तिको वरिपरि हुने वास्तविक अनुभूतिबाट प्रेरित छन्।
दोस्रो सत्रमा लेखक डा. नवराज केसीको पुस्तक ‘स्वस्पर्शको स्पर्श’ विषयमा साहित्यकार उपेन्द्र पौडेलले लेखकसँग संवाद गर्नुभएकाे थियाे।
डा. केसीले जीवनमा ‘खुसी खोज्नु होइन, अरूलाई खुसी दिनु’ नै सर्वोच्च उद्देश्य भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, “नहुँदा जति महत्व दिन्छौं, हुँदा पनि त्यति नै दिन सक्नु नै जीवनको सार हो।” पुस्तकमा आमाको माया, मानवीय संवेदना र प्रेरणादायी जीवनकथाहरू समेटिएको उहाँले बताउनुभयाे । आफ्ना पाठकहरूमध्ये एक युवतीले पुस्तक पढेपछि आत्महत्या त्यागेको उल्लेख गर्दै उहाँले भन्नुभयाे, “त्यो म्यासेज पढेपछि मलाई लाग्यो — शायद मलाई लेखक उसले बनाइदिई।”
उत्सवको अन्तिम सत्रमा अभिनेता राजेश हमाल र पत्रकार अपिल त्रिपाठीबीच ‘युगदेखि युगसम्म’ पुस्तकमा आधारित संवाद भएको थियो।
उक्त पुस्तक हमालको जीवन, सिनेमा र समाजबारे लेखिएको कृति हो। संवादका क्रममा हमालले आफ्ना जीवनका अनुभवसँगै देशको राजनीतिक अवस्थाबारे विचार व्यक्त गर्दै भन्नुभयाे, “राजनीति यस्तो कुरा हो, तपाईंले त्यसमा चासो नराखे पनि राजनीतिले तपाईंमा चासो राख्छ।” उहाँले राजनीति देशको मेरुदण्ड भएकाले कुनै पनि नागरिक त्यसको प्रभावबाट टाढा रहन नसक्ने बताउनुभयाे ।
पोखराको सांस्कृतिक र बौद्धिक वातावरणमा सम्पन्न यो उत्सवले समकालीन नेपाली साहित्य, जीवनदर्शन र कला–संवादको समृद्ध स्वर थपेको सहभागीहरूकाे भनाइ छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 




