काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीका अवसरमा कवि तथा नियात्राकार राजाराम बर्तोलाद्वारा लिखित नियात्रासङ्ग्रह ‘काठमाडौँ प्याराडाइज’को सडक विमोचन गरिएको छ । प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र के.सी रहनुभएको उक्त कार्यक्रम बागबजारस्थित प्राज्ञिक बुक्सको आँगनमा गरिएको थियो ।

“कृति असल भए अथवा कृतिले दिने सन्देश र विचार असल भए विमोचनका लागि कुनै ठूला र महँगा होटल रेष्टुरेन्ट चाहिन्न” भन्ने नारासहित शुरु गरिएको सडक विमोचन कार्यक्रमका प्रारम्भकर्ता, साहित्यकार तथा अनुसन्धानकर्ता बद्रीप्रसाद ढकालको व्यवस्थापनमा शुरु गरिएको सडक विमोचन अभियानमा यसअघि पनि तीन कृतिको विमोचन गरिएको थियो ।

प्रा.डा. के.सी.का अनुसार काठमाडौँको अलौकिक सौन्दर्यका बारेमा लेखिएका नियात्रा समेटिएको यस कृतिले काठमाडौँको ऐतिहासिकतालाई समेत स्पष्ट पारेको छ ।  पठन संस्कृतिको परम्परा हराउँदै गएको समयमा कृतिकारले भ्रमण र अध्ययनबाट उर्जा थप्दै साहित्यमा अर्को अब्बल कृति प्रकाशनमा ल्याएको के.सी.को बताउनुभयो ।

साहित्यकार गङ्गा भेटवालले नियात्राकार बर्तोलाको कृतिले काठमाडौँ र यसका वरपरका अवस्था र ऐतिहासिक पक्ष बुझ्न यस कृतिले निकै सहयोग पुर्याउने विचार राख्नुभयो ।

नियात्राकार बर्तोलाले कृतिमा समेटिएका शीर्षकहरूले उपत्यकाको सौन्दर्यको वर्णन गरेको बताउनुभयो ।

साझा प्रकाशनले प्रकाशन गरेको नियात्राको कृति सरल भाषामा लेखिएको छ ।