सुरभि साहित्य प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्म जयन्ती कवि गोष्ठिसहित उहाँको व्यक्तित्व र कृतित्वको परिचर्चा गरेर मनाएको छ ।
नेपाली साहित्यका उज्ज्वल तारा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको स्मरण गर्दै प्रमुख अतिथि, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले – साहित्यिक तथा प्राज्ञिक जगतबाट साहित्यलाई उठान गर्न यो नगरपालिका देशभरमै अग्रणी भएको चर्चा सुन्न पाएकोमा उत्साहित भएको बताउनु भयो।
कवि भनेर जनमनमा बसेका अमर नेपाली स्रष्टा भानुभक्त र देवकोटा नै भएको जिकिर गर्दै लेखक तथा समालोचक युवराज मैनालीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने व्यक्तित्वका रूपमा पनि महाकवि देवकोटाको स्मरण गर्नुभयो।
देवकोटा कति प्रसिद्ध थिए भन्ने कुरा भारतीय विद्वान साहित्यकार राहुल साङ्कृत्यायनले भारतका महाकवि सुमित्रा नन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निराला मिलाउँदा एकजना देवकोटा बन्छन् भनेर गरेको तुलनालाई अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले उल्लेख गर्नु भयो।
रूसका विश्व प्रसिद्ध साहित्यकार चेखोवको स्तर बराबर देवकोटाको साहित्यिक उचाइ रहेको भन्ने चर्चाले पनि देवकोटा नेपाली साहित्य जगतका महान र श्रेष्ठ हस्ती भएको अन्य वक्ताले स्पष्ट पार्दै मुनामदन, पहाडी पुकारबाट रचना वाचन समेत गरिएको थियो।
कवि बसन्त रिजालले भन्नुभयो, ‘देशभरि देवकोटा जयन्ती मनाइरहँदा, देवकोटा संग्रहालयमा उहाँका अप्रकाशित कृति अझै बाँकी रहेकोमा ध्यान आकृष्ट गर्दै प्रकाशनमा सम्बद्ध निकायको मौनता प्रति असन्तुष्टि पोख्नु भयो। प्रकाशनमा आफु अगाडि बढ्ने प्रतिबद्धता सहित देवकोटा पुत्रसँग सहकार्यको प्रयास गरेको पनि बताउनु भयो।
कार्यक्रमका सभापति बाजुराम पौडेलले देवकोटाको योगदान अतुलनीय भएको चर्चा गर्दै सहभागी कवि तथा उपस्थित साहित्यप्रेमी प्रति धन्यवाद ज्ञापन गर्नु भयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 










