बाँके । लोक तथा दोहोरी गायक कमल बिके निर्मोहीको स्वास्थ्य उपचारका लागि सहयोग जुट्ने क्रम सुरु भएको छ।

केही समयदेखि दुबै मृगौलामा समस्या देखिएर अस्वस्थ बनेका गायक निर्मोहीको उपचारका लागि हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

प्रतिष्ठानका प्रतिनिधि तथा आजीवन सदस्यबाट संकलन गरिएको सहयोग रकम गायक निर्मोहीकै घरमै पुगेर प्रतिष्ठानका सचिव तथा कवि केशव निमेषले हस्तान्तरण गर्नुभएकाे छ । सहयोग रकम हस्तान्तरण गर्दै सचिव निमेषले निर्मोहीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयाे ।

गायक कमल बिके निर्मोही नेपाली लोकसंगीतमा समर्पित नाम हाे। उहाँले लामो समयदेखि कर्णाली तथा मध्यपश्चिम क्षेत्रको मौलिक सांस्कृतिक पहिचानलाई गीत–संगीतमार्फत उजागर गर्दै आउनुभएकाे छ ।

प्रतिष्ठानका सल्लाहकार तथा लेखक सागर गैरेले सांस्कृतिक जगतका अभियन्ता कठिनाइमा परेका बेला साथ–सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएकाे छ ।