काठमाडौं। साहित्यिक पत्रकार सङ्घद्वारा  राजधानीमा आयोजित  समारोहमा गायिका मथुरा प्रधान श्रेष्ठको आत्मकथाकृति ‘जीवनको अनमोल यात्रा’ र म्युजिक भिडियो ‘सुख त सपनै भो’ लोकार्पण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि  कवि तुलसी दिवस र मञ्चासीन विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा लोकार्पण गर्नुभएकाे थियाे । पुस्तक विमोचनपछि म्युजिक भिडियोको प्रदर्शन गरिएको थियो।

प्रमुख अतिथि दिवसले मथुरा प्रधान श्रेष्ठ आफ्नो विद्यार्थी भए पनि स्रष्टाका रूपमा उहाँ स्वयंको विशिष्ट उचाइमा पुगेकाे बताउँदै साहित्य, संगीत र कलाका माध्यमबाट देशलाई विश्वमा चिनाउने कार्यमा स्रष्टाहरूको योगदान उल्लेखनीय रहेको टिप्पणी गर्नुभयाे।

समालोचक प्रमोद प्रधानले मथुरा प्रधान श्रेष्ठले दीप श्रेष्ठ र गोपाल योन्जनजस्ता संगीत क्षेत्रका महान साधकहरूको अभिभावकत्व पाउनु आफैंमा महत्वपूर्ण भएको उल्लेख गर्दै आत्मवृत्तान्तमा पाइने इमानदारीताको प्रशंसा गर्नुभयाे ।

कवि तथा पत्रकार शकुन्तला जोशीले कृतिमा सहज र सरल भाषामा लेखकको संघर्षको जीवन्त प्रस्तुति पाइएको धारणा राख्नुभयाे। कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले संस्थाले ५४ वर्षदेखि सिर्जनशील प्रतिभाहरूलाई उजागर गर्न भूमिका खेलिरहेको स्मरण गर्दै कार्यक्रमको उद्देश्य स्पष्ट पार्नुभयाे ।

कृतिकार मथुरा प्रधान श्रेष्ठले आफ्नो साङ्गीतिक यात्रा, संघर्ष र सहयोगीहरूबारे उल्लेख गर्दै सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयाे । समारोहमा  आख्यानकार पद्मावती सिंह, चलचित्र निर्देशक प्रकाश सायमी, इतिहासविद् डा. सुरेन्द्र के.सी., कवि तथा आख्यानकार उषा शेरचन, पूर्वराजदूत महेश मास्के र ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठ लगायतको उपस्थिति थियो।

कार्यक्रममा मथुरा प्रधान श्रेष्ठका श्रीमान् प्रदीप श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयाे भने सहजीकरण कवि सविता श्रेष्ठ ‘बेहोसी’ले गर्नुभएकाे थियाे।

कार्यक्रमको सुरुवातमा प्रमुख अतिथि तुलसी दिवसले गमलामा जल सिंचन गरी उद्घाटन गर्नुभएकाे थियाे । सार्वजनिक गरिएको म्युजिक भिडियो ‘सुख त सपनै भो’का गीतकार प्रकाश सायमी र सङ्गीतकार प्रवीन बराइली हुनुहुन्छ ।